जन्म दर्ता गर्दाको समयमै सरकारले राष्ट्रिय परिचय नम्बर दिने

  • Technology Khabar | २ चैत्र २०८०, शुक्रबार
जन्म दर्ता गर्दाको समयमै सरकारले राष्ट्रिय परिचय नम्बर दिने

काठमाडौं ।

सरकारले अबदेखि जन्म दर्ता गर्दाको बखतनै राष्ट्रिय परिचय नम्बर दिने भएको छ।

हाल नागरिकता भएका नेपालीहरुलाई मात्र  राष्ट्रिय परिचय पत्र दिँदै आएकोमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दानै राष्ट्रिय परिचय नम्बर दिने तयारी गरेको हो।

विभागले हालै सबै निकायहरुलाई सूचना जारी गर्दै राष्ट्रिय परिचय नम्बर ( NIN) सहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्ने भनेको छ।

“राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ६ को उपदफा (३) मा नेपाली नागरिकका सन्तानको जन्म दर्ता गर्दाको बखत स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिए बमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर प्रदान गर्नु पर्ने व्यवस्था भए बमोजिम यस विभागको मिति २०८०/११/२७ को निर्णयानुसार नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरको सन्तानको जन्म दर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बर ( NIN ) सहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्न देहाय अनुसार गर्नु गराउनु हुन अनुरोध छ,” पत्रमा भनिएको छ।

जसमा नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बर (NIN) सहितको जन्म दर्ताको प्रमाणपत्र जारी गरिनेछ भने १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपी जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बर (NIN) सहितको संशोधित तथा प्रतिलिपी प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गराउनुपर्नेछ।

त्यसरी परिचयपत्र दिनेक्रममा कुनै प्राविधिक कारणले जन्म दर्ता गर्दा राष्ट्रिय परिचय नम्बर ( NIN) प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरि राष्ट्रिय परिचय नम्बर ( NIN) प्राप्त भए पश्चात मात्र प्रमाणपत्र जारी गर्न भनिएको छ।

प्रकाशित: २ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार