Technology Khabar २ चैत्र २०८०, शुक्रबार
काठमाडौं ।
नेपाल टेलिकमको सिन्धुली जिल्लास्थित मोबाइल टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ।
सुनकोशी गाउँपालिका १ दुम्जा स्थित टेलिकमको टावरमा शुक्रबार बिहान अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ।
विस्फोटबाट दुम्जामा रहेको वीपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको बताइएको छ।
शुक्रबार बिहान करिव ३ बजेको समयमा विस्फोट भएको बताईएको छ।घटना स्थल पुगेको सिन्धुली प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको बताएको छ।
उक्त घटनामा संलग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
यसैबीच नेपाल टेलिकमका प्रवक्ता हरी ढकालले उक्त टावरमार्फत दिने सेवा निरन्तर भएको र प्राविधिकसमेत खटाईएको जानकारी दिए।
“हामीले प्रावधिक पठाएका छौं। टावरमा खासै केहि क्षति भएको छैन्। घरको केहि झ्यालहरु फुटेका छन्। हाम्रो सेवा संचालनमा छ” प्रवक्ताले भने।
*समाचार तथा तथा हेडलाइन अपडेट
प्रकाशित: २ चैत्र २०८०, शुक्रबार