फोल्डेबल फोन बजारमा सामसङलाई ह्वावेले आगामी वर्ष उछिन्ने प्रक्षेपण

Technology Khabar २ चैत्र २०८०, शुक्रबार

काठमाडौं ।

लगभग सबै प्रमुख स्मार्टफोन निर्माताहरूले हाल फोल्डेबल मोडलहरू प्रदान गर्दै आएका छन् र नेतृत्व सामसङले गरिरहेको छ।

त्यसैगरी सन् २०२६ मा पातलो र हल्का फोल्डेबल आईफोन आउने बारेमा पनि रोमाञ्चक अनुमानहरू रहेको छ। यसै क्रममा यस क्षेत्रको प्रदर्शनको बारेमा डीएससीसीले नयाँ प्रतिवेदन प्रस्तुत गरेको छ।

डीएससीसीको उक्त पछिल्लो प्रतिवेदनले गत वर्षको तुलनामा ३३ प्रतिशतले फोल्डेबल फोनको बजारमा वृद्धि भएको र ह्वावेले पहिलो पटक सन् २०२४ को पहिलो त्रैमासमा नेतृत्व गर्ने अपेक्षा गरेको छ।

फोल्डेबल स्मार्टफोनको बजार सन् २०२३ को अन्तिम क्वाटरमा ३३ प्रतिशतले बढेर ४.२ मिलियन युनिट पुगेको छ। ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को कमजोर प्रदर्शनको बाबजुद सामसङ बजारको अग्र स्थानमा रहेको उल्लेख छ। यद्यपि, दक्षिण कोरियाली निर्माताले बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको देखिएको छ।

ह्वावे र अनर दुवैले सन् २०२३ को चौथौ त्रैमास (क्यू४ २०२३) मा उल्लेखनीय वृद्धि देखेका छन्। साथै यदि यो प्रवृत्ति जारी रह्यो भने सन् २०२४ को पहिलो त्रैमासिकमा ह्वावेले सामसङलाई उछिन्ने विश्वास विज्ञहरूले गरेका छन्।

हाल, टप सेलिङ (शीर्ष बिक्री) स्मार्टफोन बजारमा सामसङले चार स्थान ओगटेको छ भने अनर र ओप्पोले दुई–दुई स्थान हासिल गरेको जनाइएको छ। ह्वावे र शाओमी भने एक–एक मोडलको साथ सूची बाहिर रहेका छन्। सामसङको ग्यालेक्सी जेड फ्लिप ५ पछिल्लो क्वाटरमा अग्र स्थानमा रहेको र ह्वावेको मेट एक्स५ र पकेट २ ले पहिलो क्वाटरमा उक्त अग्र स्थान खोस्ने लक्ष्य राखेको छ।

सामसङ फोल्डेबल फोन पेश गर्ने पहिलो प्रमुख निर्माता हो। यद्यपि, कम्पनीले हालै विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माताको पद गुमाएसँगै कम्पनीको समग्र प्रदर्शन कमजोर देखिएको थप उल्लेख छ।

सामसङको सम्भावित कमजोरीले ह्वावेको बिक्रीमा १०५ प्रतिशत वृद्धि गर्न सक्ने सम्भावना रहेको जनाइएको छ। यद्यपि, सामसङको आगामी जेड फोल्ड ६ र जेड जेड फ्लिप ६ ले त्यसलाई बदल्न सक्ने थप उल्लेख गरिएको छ। साथै चिनियाँ निर्माताहरूले विभिन्न मूल्य बिन्दुहरूमा मोडलहरूको फराकिलो दायरा प्रदान गरेका छन् तर अझैपनि बजारलाई विश्वस्त बनाउन सकेका छैनन्।

प्रकाशित: २ चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया