शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल ‘एसयू ७’ मार्च २८ मा लन्च गर्ने

Technology Khabar ३० फाल्गुन २०८०, बुधबार

काठमाडौं ।

शाओमीले गत डिसेम्बरमा आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल ‘एसयू७’ प्रदर्शन गरेको थियो। यद्यपि कम्पनीले त्यस समयमा इभीको फिचर्स (गाडीको सुविधाहरू) र स्पेसिफिकेशनहरू अनावरण गरेतापनि मूल्य निर्धारणको विवरणहरू भने साझा गरेको थिएन। शाओमीले अझैसम्म आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल ‘एसयू७’ को बिक्री सुरु गरेको छैन्।

मंगलबार शाओमीले चीनमा मार्च २८ मा शाओमी एसयू७ लन्च गर्ने वेइबो पोष्ट मार्फत आधिकारिक रूपमा घोषणा गरेको छ। उक्त घोषणासँगै कम्पनीले इच्छुक खरीदकर्ताहरूले मार्च २५ देखि शाओमी एसयू७ को अनुभव गर्ने मौका पनि पाउनेछन्।

त्यसैगरी चीनमा गाडीको रिजर्भेसन सुरु भइसकेको छ भने यस प्रक्रियामा २९ चिनियाँ शहरहरूमा ५९ पसलहरू सहभागी रहेको उल्लेख गरिएको छ।

शाओमी एसयू७ को स्पेसिफिकेसनहरू

स्पोर्टि डिजाइन भएको सी–सेगमेन्ट कूपको शाओमी एसयू७ नियमित र म्याक्स संस्करण गरी दुई भेरियन्टहरूमा आउने छ।

म्याक्समा आधुनिक ईभीमा हुने सबै टप–अफ–द–लाइन फिचर्स रहेको उल्लेख गरिएको छ। यसमा रहेको डुअल–मोटर अल–ह्वील–ड्राइभ सिस्टम (प्रणाली) ले २.७८ सेकेन्डमा कारलाई ० देखि १०० किलोमिटर प्रति घन्टाको गति दिने जनाइएको छ। साथै यसको २६५ किलोमिटर प्रति घन्टाको टप स्पिड निकै प्रभावशाली रहेको उल्लेख छ।

त्यसैगरी नियमित संस्करणमा रहेको सिङ्गल–मोटर रियर–व्हील ड्राइभर सेटअपले ५.२८–सेकेन्डमा कारलाई ० देखि १०० किलोमिटर प्रति घन्टाको गति दिनेछ।

यस इलेक्ट्रिक भेहिकल भित्र, शाओमीको “स्मार्ट ककपिट” मा स्न्यापड्रागन ८२९५ चिप द्वारा संचालित फाईभ–स्क्रिन सिस्टम (प्रणाली) समावेश गरिएको छ। साथै एसयू७ मा कारप्ले र एयरप्ले सपोर्टसहित १६.१ इन्चको ३के रिजोल्युसन प्राथमिक स्क्रिन पनि समावेश गरिएको छ।

शाओमीको यस इलेक्ट्रिक भेहिकलको इन्टेरियरमा स्पोर्टी नाप्पा लेदर सिट, एम्बियन्ट लाइटिङ र ठूलो ५.३५ वर्ग मिटर ग्लासको रुफ रहेको छ। साथै अडियोको लागि यसमा डल्बी एटमस समर्थनको साथ २५ वाटको स्पीकर साउण्ड सिस्टम समावेश गरिएको छ।

एचपरओएस समर्थनको साथ एसयू७ इभीले शाओमी होम आईओटी डिभाइसहरूसँग निर्बाध रूपमा अन्तरक्रिया गर्न सक्ने बताईएको छ।

प्रकाशित: ३० फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया