Technology Khabar २९ फाल्गुन २०८०, मंगलवार
काठमाडौं ।
एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ।
यो एपले एमजिको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ।
एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध यो पारामाउन्ट चार्जिङ सोलुसन एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन्। चार्जिङ्ग शुल्क ʻखल्ती एप’ मार्फत भुक्तानी हुने भएकोले ग्राहक महानुभावहरूको अनिवार्य ʻखल्ती एप’ हुन जरूरी हुन्छ। त्यसैले कम्पनीले सबै ग्राहकहरूलाई ʻखल्ती’ एप डाउनलोड गर्न आग्रह गरेको छ।
पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डिसी चार्जिङ स्टेसनका लाईभ अपडेटको साथै चार्जिङ्ग भुक्तानीमा सहजता पुर्याउने छ। यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस इभी र एमजी फो इभीका ग्राहकहरुलाई विशेष फाइदा गर्नेछ।
हालसम्म देशभरमा एमजीका ११ ओटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जानकारी दिएको छ।
साथै यस एप अन्तर्गतको आर.एफ.आइ.डी कार्ड मार्फत ग्राहकहरूले देशभरिका कुनै पनि एमजिका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन्। ग्राहकहरूले आर.एफ.आइ.डी कार्ड कम्पनिबाट लिनको लागि भ्याट सहित रु.५०० को वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ। यो शुल्क चार्जिङ मसिनहरु र स्टेसनहरूको मर्मतमा खर्च गरिने र प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ ।
साथै यो एपले २४ घन्टा चार्जिङ सोलुसनहरु उपलब्ध गराइ ग्राहकहरुको चार्जिङ्ग सम्बन्धी समस्यालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ। एमजी आर.एफ.आइ.डी कार्ड रिक्वेस्ट गर्न ग्राहकहरुले अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सक्नेछन्।
आरएफआइडी फारम भर्दा ग्राहकहरुले आफ्नो सुविधा अनुसार कार्ड डेलिभरीका लागि नजिकैको शोरूम रोज्न सक्नेछन्। नेपालमा हाल एमजिको २१ वटा शोरूमहरु रहेका छन्।
पारामाउन्ट मोटर्सले नेपाल विद्युत प्राधिकरणले तोकेको दरमा प्रति युनिट दरमा थप २०% शुल्क लागू गर्नेछ। प्रति युनिट शुल्क पिक र अफ–पिक आवरमा फरक हुनसक्ने कम्पनीले जनाएको छ।
एप लन्चको बारेमा बोल्दै पारामाउन्ट मोटर्सका प्रतिनिधिले भने, “एमजिका हाम्रा ग्राहकहरूलाई विद्युतीय सवारीसाधन चार्ज गर्ने सुविधाजनक र भरपर्दो तरिका प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौँ। यसले चार्जिङ सम्बन्धी समस्याको दिगो समाधान र समग्र इभी ग्राहकहरुको ओनरशिप अनुभव पनि बढाउनेमा हामी विश्वस्त छौँ।”
प्रकाशित: २९ फाल्गुन २०८०, मंगलवार