भारतले मोबाइल गेम पब्जीको भारतीय संस्करण बीजीएमआईलाई प्रतिबन्ध लगाउने योजना

Technology Khabar २५ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं ।

केही वर्ष पहिले, भारत सरकारले क्र्याफ्टनको लोकप्रिय ब्याटल रोयाल गेम पब्जीलाई प्रतिबन्ध लगाएको थियो। राष्ट्रिय सुरक्षाका कारण सरकारले उक्त खेलमाथि प्रतिबन्ध लगाएको बताएको थियो।

अब एउटा भर्खरको रिपोर्टले खुलासा गरेको छ कि सरकारले क्राफ्टनको अर्को खेल ब्याटलग्राउन्ड मोबाइल इण्डिया अर्थात् बीजीएमआई (BGMI) लाई पनि प्रतिबन्ध लगाउन सक्छ। तर, यसबारेमा अहिलेसम्म ठोस जानकारी बाहिर आएको छैन ।

वास्तवमा क्राफ्टन कम्पनीले भारतका लागि विशेष रूपमा डिजाइन गरेको यो ब्याटल रोयाल गेम अहिले भारतीय सुरक्षा निकायको निशानामा परेको छ।

बीजीएमआई किन प्रतिबन्धित गरिने ?

इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालय (MeitY) को साइबर सुरक्षा समूहका एक वरिष्ठ सरकारी अधिकारीलाई उदृत गर्दै भारतीय मिडिया न्यूज १८ले भनेअनुसार एजेन्सीले सरकारलाई बीजीएमआईलाई भारतमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ किनभने यो राष्ट्रिय सुरक्षाको लागि खतरनाक साबित हुन सक्छ।

यस निर्णयको कारण अहिलेसम्म थाहा नभए पनि, रिपोर्टमा पाकिस्तानी नागरिक सीमा हैदरको प्रवेशको साथै गेमबाट सङ्कलन गरिएको तथ्याङ्कलाई देशमा साइबर आक्रमणका लागि प्रयोग गर्न सकिने दाबी गरिएको छ। यी सुरक्षा निकायका केही गम्भीर चिन्ताहरू भएको रिपोर्टमा उल्लेख छ।

सीमा हैदर पाकिस्तानी नागरिक हुन्, जसले २०१९ मा अनलाइन गेम पब्जी खेल्ने क्रममा आफ्नो भारतीय पार्टनर सचिन मीनालाई भेटेकी थिइन् । मार्च २०२३ मा, सीमाले सचिनलाई नेपालमा भेटे, जहाँ उनीहरूले भारत जानुअघि विवाह गरेको बताईएको छ। जुलाई २०२३ मा हैदर अवैधरूपमा भारत प्रवेश गरेपछि उत्तर प्रदेश प्रहरीले सीमा र सचिन दुवैलाई पक्राउ गरेको थियो। प्रहरीले हैदर पाकिस्तानी जासुस हुन सक्ने आशंका पनि गरेको छ।

समाचार रिपोर्टका अनुसार सरकारले यस विषयमा छानबिन गर्न क्राफ्टनलाई प्रश्नहरूको ठूलो सूची दिएको छ र एजेन्सी अहिले कम्पनीको जवाफ पर्खिरहेको छ। करिब एक सातापछि सरकारले यस विषयमा बैठक गर्ने र त्यसपछि भारतमा बीजीएमआईको भविष्यका बारेमा छलफल हुने समाचारमा भनिएको छ।

प्रकाशित: २५ फाल्गुन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया