सरकारको लक्ष्य पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

Technology Khabar २३ फाल्गुन २०८०, बुधबार

काठमाडौं ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लिएका लक्ष्य निर्धारित समयमा पूरा गर्न कठोर परिश्रम अपरिहार्य भएकाले मेहनत गर्न कर्मचारी तथा मातहत निकायका प्रमुखलाई निर्देशन दिएकी छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज साँझ पदबहालीपछि आयोजित कर्मचारी तथा कार्यालय प्रमुखसँगको बैठकमा उनले यसअघि मन्त्रालयले थालनी गरेका कार्यक्रमलाई सम्पन्न गर्न थप मेहनत गर्न निर्देशन दिईन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि विश्वास गरेर पुनःसञ्चार मन्त्रालयको जिम्मेवारी दिएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, “जिम्मेवारी पूरा नगर्नबाट कोही कसैले छुट पाउँदैन, प्रधानमन्त्रीले विश्वास गरेर जिम्मेवारी दिनुभएको छ, यसलाई सबै मिलेर पूरा गर्नुपर्छ।”

वर्तमान सरकारले लिएको सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक खट्नु सबैको जिम्मेवारी भएकातर्फ ध्यानाकर्षण गराउँदै उनले त्यसका लागि प्रतिबद्ध भएर लागि पर्न निर्देशन दिईन्।

मन्त्रालयले थालनी गरेका सुधारका कामलाई निष्कर्षमा पुर्याउनका लागि प्रधानमन्त्री दाहालले विश्वास गरेर पुनःजिम्मेवारी दिएकामा नवनियुक्त मन्त्री शर्माले आभार प्रकट गरिन्।

आफू यसअघि पनि सञ्चार मन्त्रालयको नेतृत्वमा रहेको स्मरण गराउँदै मन्त्री शर्माले आआफ्नो जिम्मेवारी कसरी पूरा गर्ने भन्नेमा कुनै द्विविधा नराख्न आग्रह गरिन्।

“मन्त्रालयका कामकारबाही कसरी अघि बढाउने, प्राथमिकता कसरी तय गर्ने भन्नेमा कुनै अन्योल छैन”, उनले भनिन, “अब झन् तीव्र गतिमा काम गर्नुपर्छ, सरकारले लिएको लक्ष्य हासिल गरेरै छाड्नुपर्छ।”

उनले एक वर्षको अवधिमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको उत्खनन गरेर जग बसाल्ने काम सम्पन्न भएकाले अब यस क्षेत्रको पुनःसंरचनामा ध्यान केन्द्रित गर्ने बताईन।

“अब हामीलाई कुनै पनि बहानामा काम नगर्ने छुट छैन”, मन्त्री शर्माले भनिन्, “म सम्पूर्ण जिम्मेवार अधिकारी र निकायलाई यो अवसरमा विशेष निर्देशन दिन चाहन्छु ।”

यसअघि शर्माले २०७९ माघ ३ देखि २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिईन्।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले वर्तमान सरकार तथा सञ्चारमन्त्रीको निर्देशनलाई मातहतको प्रशासनिक संयन्त्रले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

त्यसअघि मन्त्री शर्मा पदबहालीका निम्ति मन्त्रालय पुग्दा मन्त्रालयका कर्मचारी तथा मातहतका निकायका प्रमुखले स्वागत गरेका थिए।

पदबहालीपश्चात् मन्त्री शर्माले नेपालमा व्याण्डविथ प्लेटफर्म ‘अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे’को सम्भावना अध्ययनका लागि समिति गठन गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरिन्।

समितिले हाल नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा व्याण्डविथ प्लेटफर्मको सम्भावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने छ। रासस

प्रकाशित: २३ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया