नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना अध्ययन गर्न समिति गठन गर्दै सञ्चार मन्त्री शर्माद्वारा पदभार ग्रहण

  • Technology Khabar | २३ फाल्गुन २०८०, बुधबार
नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना अध्ययन गर्न समिति गठन गर्दै सञ्चार मन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाडौं ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन। नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे)को संभावना अध्ययनका लागि समिति गठन गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्दै उनले पदभार ग्रहण गरिन्।

उनले हाल नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी पहिलो निर्णय गरिन्।

पदभार ग्रहणपछि आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले एक वर्षको बीचमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको उत्खनन् गरेर जग बसाल्ने काम सम्पन्न भएकाले अब यस क्षेत्रको पुनःसंरचनामा ध्यान केन्द्रित गर्ने बताईन्।

मन्त्रालयका काम सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षासहित जिम्मेवारी दिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आभार व्यक्त गर्दै मन्त्री शर्माले सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्रीको लक्ष्यलाई आफ्नो मन्त्रालयको तर्फबाट पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

‘अब हामीलाई कुनै पनि बहानामा काम नगर्ने छूट छैन,’ मन्त्री शर्माले भनिन, ‘म सम्पूर्ण जिम्मेवार अधिकारी र निकायहरुलाई यो अवसरमा विशेष निर्देशन दिन चाहन्छु।’

यसअघि शर्माले विसं २०७९ माघ ३ गतेदेखि विसं २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकि थिईन्। उनले विसं २०७२ कार्तिक १ गतेदेखि २०७३ असार २८ गतेसम्म सामान्य प्रशासन मन्त्रीको रुपमा भूमिका निर्वाह गरेकि थिईन।

विसं २०७९ मंसिर ४ गतेको निर्वाचनबाट शर्मा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिईन। उनी समानुपातिक प्रणालीबाट विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएकि थिईन्।

प्रकाशित: २३ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार