
काठमाडौं ।
सूचना प्रविधि क्षेत्रमा महिलाहरुको सहभागिता अत्यन्त न्यून रहेको भन्दै यसलाई बढाउने उपायहरु खोज्नुपर्ने सरोकारबालाहरुले बताएका छन्।
ललितपुरमा आयोजित वुमन इन डाटा विषयक सम्मेलनको क्रममा बोल्दै उनीहरुले महिलाहरुलाई प्रविधि क्षेत्रमा आकर्षित गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका हुन्।
सो कार्यक्रममा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिला देवी बज्राचार्यले लैङ्गिक विभेद हटाउन आधारभूत शिक्षाबाटै जोड दिने सरकारी नीति रहेको जानकारी दिईन्।
“हामीले विद्यालय तहबाटै स्टीम शिक्षालाई अगाडि बढाउने गरी कार्य गरिरहेका छौं। अहिले महिलाहरुको सहभागीता टेक सेक्टरमा निकै कम छ। त्यसलाई बढाउन प्रविधि क्षेत्रको अवसरहरुको बारेमा जानकारी दिनुपर्छ।” उनले भनिन्।
सचिव बज्राचार्यले इन्नोभेसन र स्टार्टअपहरुलाई प्रबर्द्धन गर्न विभिन्न नीति तथा योजनाहरु लागू गरिरहेको जानकारी समेत दिईन्।
कार्यक्रममा अनुसन्धान पत्र प्रस्तुत गर्दै नाशला जोशीले महिलाको सहभागीता प्राविधिक शिक्षा र क्षेत्रमानै कमजोर रहेको बताईन्। उनले महिलालाई उत्प्रेरित गर्ने कार्य नहुनु, प्राविधिक शिक्षा अध्ययनको उपलब्धता कमजोर हुनुलगायत कारण रहेको बताईन्।यसको लागि विद्यालय तहदेखिनै स्टीम शिक्षा प्रदान गरिनुपर्ने उल्लेख गरिन्।
यसैगरी डिजिटल राइट्सका सन्तोष सिग्देलले नीति समाज र निजी क्षेत्रको सहकार्यमा महिलाहरुलाई डाटामा सहभागी गराउन सकिने भन्दै अहिलेको विभेदलाई सबै मिलेर हटाउनुपर्नेमा जोड दिए।
द एशिया फाउन्डेशनकी देशिय प्रतिनिधि मेगान नाल्बोले लिङ्गिय विभेद सबैतिर रहेको र नेपालमा पनि यसको प्रभाव धेरै रहेको बताइन्। उनले आगामी दिनमा डाटा (सूचना प्रविधि) ले यसलाई रुपान्तरण गर्न सहयोग गर्ने भन्दै यसमा सबैले एक्सन लिनुपर्ने सुझाब दिईन्।
यस्तै बेलायती दुतावासकी डेपुटी राजदूत हेडी टाभाकोलीले प्रविधिको प्रयोग विकाशसिल मुलुकहरुमा समेत बढिरहेको भन्दै नेपालको सूचना प्रविधि शिक्षामा समेत बेलायती संस्थाहरुले सहयोग गरिरहेको बताईन्। उनले यस क्षेत्रमा महिला सहभागीता बढाउनका लागि समान शिक्षा र अधिकार महिलाहरुका लागि आधारभूत हुने बताईन्।
प्रकाशित: २२ फाल्गुन २०८०, मंगलवार