Technology Khabar २२ फाल्गुन २०८०, मंगलवार
काठमाडौं ।
टाटा र सामसङ लगायत धेरै कम्पनीहरु भारतमा उत्पादन प्रवर्द्धन गर्न सुरु गरिएको पीएलआई योजनाबाट लाभान्वित हुने भएका छन्। स्मार्टफोन उत्पादनका लागि तोकिएका सर्तहरू पूरा गरेपछि धेरै कम्पनीहरूले सरकारबाट हजारौं करोड भारतीय रुपैयाँको प्रोत्साहन पाउने भएका हुन्।
पीएलआई योजना अन्तर्गत प्रोत्साहन रकम प्राप्त गर्ने कम्पनीहरूमा फक्सकन, विस्ट्रोन, पेगाट्रोन, सामसङ, डिक्सन टेक्नोलोजीज आदि रहेका छन्। फक्सकन, विस्ट्रोन, र पेगाट्रोनले एप्पलको लागि सम्झौता अन्तरगत भारतमा डिभाइसहरु निर्माण गर्छन्। विस्ट्रोनलाई केही समयअघि टाटा समूहले किनेको थियो । डिक्सन टेक्नोलोजीज एक भारतीय घरेलू स्मार्टफोन निर्माण कम्पनी हो।
यी कम्पनीहरूले सरकारबाट प्रोत्साहनको रूपमा भारु ४,४०० करोड भन्दा बढी रकम पाउनेछन्। पीएलआई अर्थात् उत्पादन लिङ्क गरिएको प्रोत्साहन योजनाको उद्देश्य देशमा उत्पादनलाई बढावा दिनु हो। भारत सरकारले स्मार्टफोनलगायत धेरै क्षेत्रका लागि पीएलआई योजना सुरु गरेको छ। यस योजना अन्तर्गत कम्पनीहरूले तोकिएको अवधिमा न्यूनतम उत्पादन जस्ता सर्तहरू पूरा गर्नुपर्नेछ, त्यसपछि मात्र उनीहरूले सरकारबाट प्रोत्साहन पाउँछन्।
फक्सकन, विस्ट्रोन, पेगाट्रोन, सामसङ, डिक्सन टेक्नोलोजीजले आर्थिक वर्ष २०२२-२३ मा पीएलआई योजना अन्तर्गत प्रोत्साहन प्राप्त गर्न सरकारले तोकेको लक्ष्य हासिल गर्न सफल भएका भारतीय मिडिया रिपोर्टमा उल्लेख छ।
स्मार्टफोन पीएलआई योजना अन्तर्गत एक दर्जन भन्दा बढी कम्पनीहरूलाई चयन गरिएको थियो। यसपटक सर्त पूरा नगरेका कारण १० भन्दा बढी कम्पनीले प्रोत्साहन पाएका छैनन् ।
भारतको केन्द्र सरकारले वित्तीय वर्ष २०२३-२४ अन्तर्गत स्मार्टफोन पीएलआई योजनाको लागि ६,५०४ करोड भारतीय रुपैयाँको प्रावधान गरेको छ। तर, यो रकमको पूर्ण सदुपयोग नहुने डर छ। धेरै कम्पनीहरू पीएलआई योजनाको लक्ष्यभन्दा पछाडि छन्।
ईटीको एक रिपोर्ट अनुसार, ती कम्पनीहरूमा शाओमीको कन्ट्र्याक्ट निर्माता राइजिंग स्टार (इन्डिया एफआईएच), लाभा, ओप्टिमस इलेक्ट्रोनिक्सलगायत समावेश छन्।
प्रकाशित: २२ फाल्गुन २०८०, मंगलवार