
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेजीको प्रकृया शुरु गरेको र हाल सेवा बन्द रहेको युनाईटेड टेलिकम लिमिटेड (युटिएल)ले सरकारी कम्पनीको गोदामको भाडा नतिरेको भन्दै भाडा तिर्न सार्वजनिक सूचना जारी भएको छ।
पुतली सडक स्थित त्रिवेणी कम्पलेक्समा कार्यालय रहेको युटिएलले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ललितपुर महानगरपालिका वडा नं.४ नख्खु स्थित गोदाम नं.८भाडामा लिएपनि लामो समयदेखि भाडा नतिरेको खुलासा भएको छ।
भारतीय सरकारी टेलिकम कम्पनीहरुको समेत लगानी भएको युटिएलले सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई २०७४ साउन ४ गते देखिको बहाल रकम भुक्तानी नगरी पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकोले ३० दिने सार्वजनिक सूचनामार्फत रकम पचपन्न आख अन्ठानब्बे हजार छ सय बयालीस रुपैयाँ तिर्न भनिएको छ।
“पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नभाएकोले जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका वडा नं.-४ र जिल्ला प्रहरी कार्यालय लनितपुरका प्रहरी प्रतिनिधीको रोहबरमा मिति २०७०/१०/२३ मा गोदाम खोली गोदाममा भएको माल बस्तुको मुचुल्का प्रमाणित गरी राखिएको छ। त्यस कम्पनीले मिति २०७० माघ मसान्त सम्मको यस कम्पनीलाई तिर्नु बुझाउनु पर्ने बक्यौता रकम पचपन्न लाख अन्ठानब्बे हजार छ सय बयालीस मात्र बुझाई कम्पनीको गोदाममा रहेको माल वस्तु उठाई लैजान,” सार्वजनिक सूचनामा भनिएको छ।
बक्यौता रकम चुक्ता गरी मालवस्तु उठाई नलगेमा नेपालको प्रचलित कानून बमोजिम लिलाम बिक्री गरिने चेतावनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको छ।
स्मरण रहोस्, सर्वोच्च अदालतले हालै युटिएलको विपक्षमा आदेश जारी गर्दै नियामक निकायले लाइसेन्स खारेज गर्ने प्रकृयाको लागि बाटो खुला गरिदिएको छ।
हेर्नुस् सम्बन्धित समाचार-
युटिएलले हालेको मुद्दामा सरकारको जीत, बाँकी बक्यौता उठाउने र अनुमति पत्र खारेज गर्ने बाटो खुल्यो
प्रकाशित: १९ फाल्गुन २०८०, शनिबार