गृहमन्त्रीसमक्ष कार्यदलद्वारा सूचना प्रणाली विकाससम्बन्धी प्रतिवेदन पेस

  • Technology Khabar | १८ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं ।

एकीकृत आपत्कालीन प्रतिकार्य प्रणालीसम्बन्धी अवधारणा तथा कार्ययोजना तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बिहिबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको छ।

गृह मन्त्रालयमा बिहिबार आयोजित एक कार्यक्रममा कार्यदलका संयोजक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

प्रतिवेदनमा विभिन्न निकायद्वारा सञ्चालित आपत्कालीन नम्बर तथा प्रणालीको वर्तमान अवस्था, अन्तरराष्ट्रिय अभ्यास, एकीकृत प्रणाली विकास गर्नुपर्ने आवश्यकता, समस्या र चुनौती, प्रस्तावित ढाँचाका अतिरिक्त प्रणाली विकास गर्न आवश्यक नीतिगत, संरचनागत र प्रविधिगत सुझाव समावेश गरेको कार्यदल संयोजक पाण्डेले जानकारी दिए।

आपत्कालीन अवस्थामा परेका व्यक्तिले आफूसँग रहेको सञ्चार साधन प्रयोग गरी केन्द्रीय प्रणालीमा सूचना दिने र आवश्यक आपत्कालीन सेवा लिन सक्ने गरी प्रणाली विकासका लागि कार्ययोजना तयार गर्न उपप्रधानमन्त्री श्रेष्ठले ११ सदस्यीय उक्त कार्यदल गठन गरेका थिए।

कार्यदलमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरीका एक–एक र नेपाल प्रहरीका दुईजना प्रतिनिधि र सूचनाविज्ञ छन्।

तत्कालका लागि प्रहरी सेवा, एम्बुलेन्स र दमकल सेवाको एकीकृत प्रणालीको विकास गर्न प्रतिवेदनमा विस्तृत कार्ययोजना पनि प्रस्ताव गरिएको छ। आपत्कालीन प्रयोजनका लागि विभिन्न देशमा एकल नम्बरको अभ्यास भइसकेको छ।

भारतमा एक सय १२, चीनमा एक सय १०, अमेरिका र पाकिस्तानमा नौ सय ११ नम्बर प्रयोगमा छन्। रासस

प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया