
काठमाडौं ।
अमेरिकी टेक्नोलोजी कम्पनी क्वालकम र भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनीहरू मध्ये एक रिलायन्स जियो सस्तो मूल्यको फाइभजी स्मार्टफोन ल्याउने तयारीमा छन्। रिलायन्स जियोले भारतमा आफ्नो ५जी नेटवर्क लगभग पूरा गरिसकेको छ। तर, ठूलो संख्यामा भारतीय दूरसञ्चार प्रयोगकर्तासँग अझैपनि २जी सेवा छ।
एक मिडिया रिपोर्टले बताउँछ कि क्वालकमले एन्ट्री-लेभल ५जी स्मार्टफोन लन्च गर्न रिलायन्स जियोसँग साझेदारी गर्नेछ। यसको मूल्य ९९ डलर (भारु ८,२००) भन्दा कम हुन सक्छ र यो स्मार्टफोन यसै वर्षको अन्त्यसम्ममा लन्च गर्न सक्नेछ।
यसका लागि क्वालकमले विभिन्न ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर्स (ओईएम) सँग पनि कुराकानी गरिरहेको छ। रिपोर्टकाअनुसार यो स्मार्टफोनले ५जी स्ट्यान्डअलोन आर्किटेक्चरलाई समर्थन गर्नेछ र यो फोन रिलायन्स जियोको नेटवर्कमा कनेक्ट हुनेछ।
यस स्मार्टफोनमा क्वालकमले कम लागतमा कस्टमाइज चिपसेट दिन सक्नेछ। मिडिया रिपोर्टले क्वालकमका एसभीपी क्रिस प्याट्रिकलाई उद्धृत गर्दै भन्यो, “यो उत्पादन भारतबाट प्रेरित छ। हामी ४जीबाट ५जीमा सर्नेहरूलाई ध्यान केन्द्रित गरिरहेका छौं।”
क्वालकमले भारतमा २जी प्रयोगकर्ताहरूलाई प्रोत्साहित गर्न यो चिपसेट लन्च गर्ने योजना बनाएको छ। यसबाट देशमा फाइभजी प्रयोगकर्ताको संख्या द्रुत गतिमा बढ्न सक्छ। पछिल्ला केही वर्षयता दूरसञ्चार सेवाग्राहीको संख्यामा तीव्र वृद्धि भएको छ। गत वर्षको डिसेम्बरमा, भारतीय दूरसञ्चार ग्राहक संख्या मासिक आधारमा करिब १ अर्ब २० करोडमा पुगेको छ।
प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार