दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा

Technology Khabar १४ फाल्गुन २०८०, सोमबार

काठमाडौं ।

दाङको दुर्गम गाउँपालिका राजपुरमा सोमबारदेखि नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीसँग कुराकानी गरेर एफटिटिएचको अनलाइन उद्घाटन गरिन्।

सो क्रममा मन्त्री शर्माले दुर्गममा उच्च गतिको इन्टरनेटसहितको दूरसञ्चार सेवा विस्तार गर्ने क्रममा राप्तीपारिको गाउँपालिका राजपुरमा एफटिटिएच पुर्याइएको बताईन। उनले अध्यक्षमार्फत गाउँपालिकाका बासिन्दा बधाई पनि दिईन्।

केही समयअघि दाङको पहाडी गाउँपालिका बंगलाचुलीमा एफटिटिएच सेवा पुर्‍याइएको जानकारी दिँदै दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेकी मन्त्री शर्माले अब लगत्तै राप्तीपारिको गाउँपालिका गढवामा पनि सेवा विस्तार हुने बताईन्।

दश ओटा स्थानीय तह रहेको दाङका छ वटा पालिकामा एफटिटिएच सेवा विस्तार भएको छ। मन्त्री शर्माले बाँकी तीन गाउँपालिका शान्तिनगर, बबई र दंगशीरणमा पनि चाँडै एफटिटिएच विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएकी छन्।

नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले पूर्वपश्चिम राजमार्गको रिहारबाट १५ किलोमिटर अप्टिकल फाइबर विस्तार गरेर राजपुरमा सेवा सुरु गरिएको जानकारी दिए।

हाल वडा नम्बर ४, ५ र ६ मा यो सुविधा पुर्याइएको र यसबाट तत्काल पाँच सय १२ लाइन फोन, इन्टरनेट र टेलिभिजन वितरण गर्न सकिने उहाँले जानकारी दिए। यो पालिकाका वडा नम्बर १, २ र ३ मा चाँडै विस्तार गरिने उल्लेख गर्नुहुँदै उनले यो हप्ताभित्रै गढवा गाउँपालिकामा एफटिटिएच विस्तारको काम सुरु हुने बताए।

तुलसीपुरदेखि हापुरेसम्मको लाइन विस्तारको काम पनि सुरु गर्ने तयारी थालिएको जानकारी दिँदै कार्यालय प्रमुख शर्माले अबको दुई महिनाभित्र एफटिटिएच पुग्न बाँकी शान्तिनगर, दंगीशरण र बबई पनि पुर्याइने जानकारी दिए।

प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया