स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट गर्ने काम बन्द गर्न रास्वपाका सांसद शाहको अनुरोध

Technology Khabar १४ फाल्गुन २०८०, सोमबार

स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट गर्ने काम बन्द गर्न रास्वपाका सांसद शाहको अनुरोध
फाइल तस्विर

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट गर्ने काम बन्द गर्न सरकारसँग आग्रह गरेका छन्। शाहले प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारसँग स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट गर्ने काम बन्द गर्न अनुरोध गरेका हुन्।

आफूसँग रहेको स्मार्ट ड्राइभिङ लाइसेन्स देखाउँदै शाहले सोमबारको बैठकमा भने, ‘यो कसरी स्मार्ट हुन्छ मैले अहिलेसम्म बुझ्न सकेको छैन’ भन्दै सरकारसँग प्रश्न गरे।

साथै उनले ड्राइभिङ लाइसेन्स एक लाख प्रति नक्कली जारी गरिएको र यसका सम्बन्धमा अहिले अख्तियार र सीआईबीले अनुसन्धान गरिरहेको पनि जानकारी दिए।

यातायात व्यवस्था विभागले १२ लाख कार्ड जर्मनीको कम्पनीसँग खरिद गरेको छ। २० करोड रुपैयाँ खर्च गरेर छपाई जिम्मा मद्रार्स सेक्युरिटी प्रिन्टरलाई दिइएको छ।

‘तर उक्त कार्ड ६ लाख प्रति भेरिफिकेसन नमिलेर फिर्ता आएको छ। ४० हजार अमेरिकी डलर थपियो भने छाप्न मिलिने भनिएको छ,’ उनले भने, ‘स्मार्ट लाइसेन्सको नाममा कार्ड एउटा देशबाट ल्याउने छाप्न अर्को देशमा पठाउने यो कस्तो खेल हुँदैछ। छाप्न पनि नमिल्ने चिप हालेर कार्ड ल्याउने यो कस्तो स्मार्ट चलखेल हो।’

जनताले कहिलेसम्म स्मार्ट लाइसेन्सको नाममा दुःख पाइराख्नु पर्ने भनेर उनले सरकारको विरोध गरे।

‘छाप्न नमिल्ने चिप कार्ड पठाउने र चिप हासिल गर्न हतार हुने सरकार। जनता आफै स्मार्ट भइसकेका छन्,’ उनले भने, ‘यो प्रिन्ट गर्ने काम बन्द गर्नु होस्। र लाइसेन्स प्राप्तिका लागि हुने समयको बर्वादी राकौं र यो महाजात्राको अन्त्य गरौं।’

यातायात व्यवस्था विभागले स्मार्ट ड्राइभिङ लाइसेन्सको बढ्दो माग सम्बोधन गर्न गत वर्ष माघमा जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस (जीएमबीएच)सँग १४ लाख ९८ हजार ८० डलरमा १२ लाख स्मार्ट कार्ड खरिदका लागि सम्झौता गरेको थियो।

उक्त सम्झौता अनुसार जर्मन कम्पनीले गत पुसमा पहिलो चरणमा ६ लाख स्मार्ट कार्ड विभागलाई उपलब्ध गराएको थियो। तर कार्ड जर्मनको कम्पनीसँग खरिद गरिए पनि प्रिन्ट गर्ने समयन्त्र भने भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग रहेको छ। मद्रासले हाल विभागले खरिद गरेको स्मार्ट कार्डमा प्रिन्ट नहुने समस्या देखिए पछि अतिरिक्त ४० हजार अमेरिकी डलर गरेको छ।

सरकारका कारण स्मार्टकार्डको समस्या

नेपाली काँग्रेसका सांसद उदय शम्शेर जबराले स्मार्ट लाइसेन्स नवीकरण र नयाँ प्राप्त गर्न करिब २१ महिना लाग्ने जानकारी दिए। ‘यो समस्या आजको कुरा हैन, महिनाको कुरा हैन यस्तो समस्या भएको ६ वर्ष भइसकेको छ। मेसिनको कुरा पनि आएको छ। मैले बुझे अनुसार हामीसँग मेसिन छन्,’ जबराले भने।

एउटा मेसिनले एक घण्टा १४० कार्ड प्रिन्ट गर्न सक्ने भएकाले १२ घण्टामा वा एक दिनमा एक हजार ६८० कार्ड प्रिन्ट गर्न सकिने तथ्य पनि उनले संसदमा जानकारी गराए। सरकारले नचाहेकाले स्मार्टकार्डको समस्या आएको उनको आरोप छ।

प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया