Technology Khabar १४ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
एनसेल आजियाटा लिमिटेड बेचेर बाहिरिएको मलेशियन टेलिकम ग्रुप आजियाटा बर्हादले नेपाली कम्पनी बेच्दा १,५०५.६ मिलियन मलेसियन रिंगिट अर्थात करिब ४१ अर्ब ९१ करोड ५९ लाख रुपैयाँले नोक्सानी भएको जनाएको छ।
आजियाटाले केहि दिनअघि सार्वजनिक गरेको ग्रुपको चौथो त्रैमासिक प्रतिवेदनअनुसार एनसेलको ८० प्रतिशत शेयर भएको रेनोल्डस् होल्डिङ् लिमिटेडको बिक्रीमा वार्षिक आधारमा ३५६.४ मिलियन मलेसियन रिंगिट अर्थात करिब ९ अर्ब ९२ करोड रुपैयाँ घाटा भएको उल्लेख गरेको छ।
आजियाटाले अनिश्चित र बिग्रँदै गएको सञ्चालन वातावरण र थप मूल्य क्षति हुनसक्ने जोखिमले आर्थिक वर्ष २०२३ मा नेपालका साथसाथै म्यानमारबाट बाहिरिने निर्णय गरेको थियो। आजियाटाले बताएअनुसार म्यानमारको टेलिकम अपरेटर इडोट्को को लागि बिक्री छलफल चलिरहेको बेला २०२३ डिसेम्बर १ तारिखमा नेपाल सञ्चालनको डिस्पोजल पूरा भएको थियो।
स्मरण रहोस्, आजियाटा यूकेले एनसेलको ८० प्रतिशत शेयर भएको रेनोल्ड्स समूह एनसेलमा २० प्रतिशत शेयर भएका नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ५० मिलियन अमेरिकी डलर अर्थात लगभग ६ अर्ब ६४ करोड ३६ लाख ६० हजार रुपैयाँमा बेचेको थियो।
कम्पनीले गएको मंसिरमा उक्त खरिद बिक्री सम्झौता भएको सार्वजनिक गरेको थियो। सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिनेछ। कारोबार सम्पन्न नहुन्जेलसम्म स्पेक्ट्रलाइटले क्याम्बोडियामा रहेको एक्जियाटा (कम्बोडिया) होल्डिङ्स लिमिटेडमा लगानी गरेको निश्चित शेयरहरूको प्रतिज्ञामार्फत सुरक्षित गरिने बताईएको छ।
आजियाटा ग्रुपकाअनुसार एनसेल मोबाइल संचालनको सम्पत्ति बिक्री गरेसँगै वार्षिक आधारमा १,५०५.६ मिलियन रिंगिट अर्थात करिब ४१ अर्ब ९१ करोड रुपैयाँले नोक्सानी भएको हालै सार्वजनिक गरिएको वित्तीय प्रतिवेदनमा उल्लेख छ।
यसका साथै पूँजीगत लाभकर सम्बन्धित प्राप्यहरू र द्धिपक्षिय लगानी सन्धि मध्यस्थता कार्यवाहीको प्रतिकूल परिणाम पछि ३९६.१ मिलियन रिंगिट राइट-अफ द्वारा प्रभावित भएको थियो भने एनसेलको ८० प्रतिशत शेयर नियन्त्रण गर्ने रेनोल्ड्स समूहको बिक्रीमा शुद्ध घाटा ३५६.४ मिलियन रिंगिट भएको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक वर्ष २०२३ को चौथो त्रैमासिकमा आजियाटा समूहको करपछिको नाफा शतप्रतिशत भन्दा बढिले घटेर २,४५७.१ मिलियन रिंगिटमा पुगेको छ।
सार्वजनिक तथ्यांकअनुसार त्रैमासिक आधारमा हेर्दा २०२३ को तेस्रो त्रैमासिकमा नेपालको मोबाइल संचालन सेवाको सम्पत्ति बिक्रीबाट आजियाटाको करपछिको नाफामा ७४.९ प्रतिशतले सुधार हुँदै घाटा रकम २५६.४ मिलियन रिंगिटमा झरेको छ। यसका साथै चौथो त्रैमासमा रेनोल्ड्स ग्रुप बिक्रीबाट कम्पनीले खुद घाटा ३५६.४ मिलियन रिंगिट रहेको छ।
बिबरणअनुसार आजियाटा यूकेद्वारा रेनोल्ड्समा रहेको आफ्नो इक्विटीको व्यवस्थापन गरिएको छ र हाल प्रकृयामा रहेको छ।
जसअन्तरगत हालको शर्त एनसेलद्वारा घोषित भविष्यको व्यापार कार्यसम्पादन र वितरणहरूमा निर्भर हुनेछ र एनसेलले रेनोल्ड्सलाई सान्दर्भिक वितरणको भुक्तानीको लागि निम्नानुसार सान्दर्भिक नियामक अनुमतिहरू प्राप्त गरेको आधार हुने जनाएको छ।
•२०२३ को लागि एनसेलद्वारा घोषित र स्वीकृत शुद्ध वितरणको ८० प्रतिशत;
• २०२४ र २०२५ को लागि एनसेलद्वारा घोषित र स्वीकृत रेनोल्ड्सका कारण कुल वितरणको ४० प्रतिशत;
• २०२६ र २०२७ को लागि एनसेलद्वारा घोषित र अनुमोदित रेनोल्ड्सका कारण कुल वितरणको ३० प्रतिशत; र
• सन् २०२८ र २०२९ को लागि एनसेलले घोषणा गरेको र स्वीकृत गरेको रेनोल्ड्सका कारण कुल वितरणको २० प्रतिशत हुनेछ।
यस बाहेक आजियाटा यूकेले २०२२ मा घोषणा गरिएको लाभांश प्राप्त गर्नेछ तर एनसेलले रेनोल्ड्सलाई अझै भुक्तान नगरेको बिबरणमा लेखिएको छ। जसमा, एनसेलले रेनोल्ड्सलाई त्यो लाभांशको भुक्तानीको लागि सान्दर्भिक नियामक अनुमतिहरू प्राप्त गर्नेछ।
र ३१ डिसेम्बर २०२९ अघि एनसेलको महत्वपूर्ण सेयर उच्च मूल्यमा डिस्पोज गरिएमा माथि उल्लेख गरिएको हिस्सामा कम्पनीले अधिकार राख्नेछ।
यस बाहेक प्रभावकारी रूपमा, रेनोल्ड्स र यसको सहायक कम्पनी एनसेल समूहको हिस्सा हुन छाडेको बिबरणमा घोषणा गरिएको छ।
आजियाटाले सार्वजनिक गरेको वित्तीय विबरणअनुसार आर्थिक वर्ष २०२३ मा एनसेलको ८० प्रतिशत शेयर भएको रेनोल्ड्सको आम्दानी वार्षिक आधारमा घटेर १ अर्ब १७ करोड ११ लाख ५३ हजार रिंगिट अर्थात करिब ३२ अर्ब ६० करोड ४८ लाख ९९ हजार रुपैयाँमा झरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०२२ को तुलनामा करिब २० करोड २७ लाख २ हजार रिंगिट अर्थात ५ अर्ब ६४ करोड ३२ लाख २३ हजार रुपैयाँले थप कमी भएको देखिन्छ।
प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार