नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको उपयोग गरिनुपर्नेमा जोड

Technology Khabar १३ फाल्गुन २०८०, आईतवार

काठमाडौं ।

नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ललितपुरमा भएको ‘जनप्रतिनिधिसँग प्रेस सेन्टर’ विषयक अन्तक्रियामा सहभागीले सूचना प्रविधिको प्रभाव रहेको वर्तमान समयमा सत्यतथ्य सूचना र घटनालाई चाँडो र प्रभावकारीरुपमा सम्प्रेषण गर्दै सुसूचित गराउने नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा जोड दिएका हुन् ।

अन्तक्रियामा कार्यपत्र प्रस्तुत गर्दै माओवादी केन्द्र प्रचार विभागका सहइञ्चार्ज महेश्वर दाहालले पत्रकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर पत्रकारिता गर्न सामाजिक सञ्जालको सही तरिकाले प्रभावकारी हुनेगरी उपयोग गर्नुपर्ने बताए।

“वेबसाइट, ब्लग र सामाजिक सञ्जाल प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास नागरिक पत्रकारिता हो, यसको व्यवस्थित जग भने दक्षिण कोरियाबाट निर्माण भएको हो । अहिले विश्वभरि इन्टरनेटले लाखौँ समाचार साइट र ब्लग जन्मिएका छन्, यसको सही प्रयोगबाट नै आजको युगमा प्रभावकारीरुपमा नागरिकमैत्री पत्रकारिता गर्न सकिन्छ”, दाहालले भने।

कार्यक्रममा ‘सामाजिक सञ्जालको प्रयोग र प्रचार युद्ध’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले वेबसाइट, ब्लग र सामाजिक सञ्जाल प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास दक्षिण कोरियाबाट निर्माण भएको बताए। उनले सन् २००० देखि सामाजिक सञ्जालको प्रयोग र प्रचारले फड्को मार्दै आएको प्रष्ट पारे।

दक्षिण कोरियाका अनलाइन उद्यमी ओह येओन–हो नेतृत्वको टिमले ‘सबै नागरिक रिपोर्टर’ का अवधारणा ल्याएको जानकारी गराउँदै उनले सात सय २७ जना नागरिक रिपोर्टरबाट सुरु भएको अनलाइन सूचना प्रणाली सन् २००७ सम्म आउँदा सय देशबाट ५० हजार नागरिक रिपोर्टरसहित विस्तार भएको र अहिले विश्वभरि इन्टरनेटले लाखौँ समाचार साइट र ब्लग जन्माएको बताए।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार भवानी बरालले प्रेस र जनप्रतिनिधिको भेट शीर्षकमा दोस्रो कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल नयाँ मिडिया र आमसञ्चारका विविध विषयमा सरल तरिकाले प्रस्तुतीकरण गरेका थिए । उनले विद्युतीय माध्यमको प्रयोगका सकारात्मक र नकारात्मक पक्षमा प्रकाश पार्दै लोकतन्त्रको रक्षार्थ पत्रकारिता प्रभावकारी ढङ्गले उत्रनुपर्नेमा जोड दिए।

युनेस्कोले सन् २०२२ मे ३ विश्व प्रेस स्वतन्त्रताका अवसरमा अगाडि सारेको थिम ‘प्रविधिको घेरबन्दीमा पत्रकारिता’ विषयलाई व्यापक छलफलमा लैजान आग्रहसमेत गरेका थिए। रासस

प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार

तपाइको प्रतिक्रिया