Technology Khabar १२ फाल्गुन २०८०, शनिबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि केहि सेवा प्रदायकको नेटवर्कमा टिकटक चलिरहेको भन्दै कारबाहीको चेतावनी दिएको छ।
नियामक निकायले आज शनिवार अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै टिकटक (Tiktok) को प्रयोग पहुँचमा रोक लगाइएको स्मरण गराएको छ।
दूरसञ्चार प्राधिकरणले त्यस्ता सेवा प्रदायकहरूलाई स्पष्टीकरण सोधिएको र दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही प्रक्रिया अघि बढिसकेको बताएको छ।
यसका साथै इन्टरनेट सेवा प्रदान गर्ने अन्य सेवा प्रदायक कम्पनीहरूलाई समेत प्राधिकरणको निर्देशन पालना गर्न र निर्देशन पालना नगरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही हुने चेतावनी दिएको हो।
यसका साथै नियामकले टिकटकमा पहुँच पुगिरहेको वा टिकटक चलिरहेको भए प्राधिकरणको इमेल ठेगाना content@ nta.gov.np मा इमेल गरी त्यस्तो इन्टरनेट कम्पनीको बारेमा जानकारी गराउन सबै इन्टरनेट सेवाग्राहीहरूलाई अनुरोध गरेको छ।
यसअघि सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने नेपाल सरकारले निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी भएको उल्लेख छ।
प्रकाशित: १२ फाल्गुन २०८०, शनिबार