Technology Khabar ११ फाल्गुन २०८०, शुक्रबार
काठमाडौं ।
नेपालको व्यावसायिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ स्थापना भएको इकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ।
‘मेक इन नेपाल’ इनिसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगहरुलाई सबलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले आज बिहीबारदेखि व्यावसायिक सेवा सञ्चालनको सुरुवात गरेको हो।
डिजिटल साहुजी नेपालमा विगत १७ वर्षयता क्वालिटी आईटी प्रडक्ट डेलिभरीका लागि लोकप्रिय रहेको स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनीका रुपमा रहेको छ।
ग्राहकले कम्पनीमार्फत सही र आधिकारिक आईटी प्रडक्ट्समा आफ्नो घरको ढोकामै डेलिभरीको सुविधा पाउनेछन्। कम्पनीले व्यापक ग्राहकमाझ पुग्ने प्रतिबद्धतासहित अनलाइन शपिङ गर्ने र पसलमै गएर किन्न चाहने दुवैखाले ग्राहकलाई सेवा दिने जनाएको छ।
यसले नामअनुसारको काम अर्थात् विभिन्न व्यवसायलाई प्रविधिसँग जोडेर तिनीहरुलाई डिजिटलाइजेसन गर्ने कम्पनीका संस्थापक तथा सिईओ राजन न्यौपानेले बताए।
उनले भने, ‘हामी तपाईंको सपना पूरा गर्न आएका छौँ। आईटी प्रडक्ट्सका लागि एउटा विश्वासिलो र सुरक्षित इकमर्स प्लेटफर्म बन्ने हाम्रो लक्ष्य हो। हामी पसल सञ्चालक, विद्यार्थी र सूचना प्रविधिबारे उत्सुकहरुमाझ तपाईंको ढोकामै हामी आधिकारिक प्रडक्टहरु डेलिभरी सेवा उपलब्ध गराउनेछौँ। हाम्रो भिजन भनेको हरेक व्यक्तिका लागि आईटी शपिङलाई सहज र पहुँचयोग्य बनाउने मात्र नभई उहाँहरुको शपिङ, सिकाइ र व्यावसायिक यात्रालाई सहयोग पुर्याउने पनि हो।’
उनका अनुसार डिजिटल साहुजीले ग्राहक, खुद्रा बिक्रेता, इम्पोर्टर, विद्यार्थी र युवाहरुको समस्याका लागि उपयुक्त समाधानहरुको वातावरण सिर्जना गर्ने र ग्राहकहरुलाई आफ्नै घरनजिकको डिजिटल साहुजीको डिलरबाट सामान भेरिफाई गरी खरिद गर्न पाउने सुविधा दिनेछ।
डिजिटल साहुजीबाट सामान खरिद गर्दा ग्राहकहरुले कस्टमर सपोर्टको लागि सहज पहुँच, छिटो र सुरक्षित डेलिभरीका साथै नेपालभर जुनसुकै डिजिटल साहुजीका डिलरहरुबाट एक्सचेन्ज र वारेन्टी लिनसक्ने सुविधा पाउने बताईएको छ।
खुद्रा व्यापारीहरुले डिजिटल साहुजीसँग जोडिएर सानो लगानीबाट नै आफ्नो काम सुरु गर्न सक्नेछन्। डिजिटल साहुजीसँगको सहकार्यमा व्यवसायीहरुले व्यवसाय सुरु गर्दा आवश्यक पर्ने तालिम, मार्गदर्शनका साथै स्वच्छ प्रतिस्पर्धाको अवसर पाउने जनाएको छ।
प्रकाशित: ११ फाल्गुन २०८०, शुक्रबार