
काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले फेरी टेरामोस काण्डमा मुछिएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेका छन्।
नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले बैठकमा उठेर बिरोध जनाएसँगै सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद योगेश भट्टराईलाई बोल्ने समय दिएका थिए।
आजको बैठकमा नेकपा एमालेका सांसद भट्टराईले बोल्दै टेरामोस (वा टेरामोक्स समेत भनिने) काण्डमा अख्तियारले बयान लिएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेका हुन्।
“यो करोडको, लाखको कुरा थिएन सभामुख महोदय, अर्बौं रकमको घोटाला हुने टेरामोस काण्डमा तत्कालिन संचार मन्त्रीको हैसियलले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग बयान लिएको छ। जब अख्तियारले बयान लिएको छ भने अब त्यो मन्त्री फेरीपनि बहाल हुने हामीलाई नैतिकरुपमा किमार्थ स्वीकार छैन्,”सांसद भट्टराईले भने, “भोली को को त्यसमा जाला भन्ने पछि छानबिनमा होला।”
उनले लेखा समितिले पनि छानबिन गर्न निर्देशन दिएको भन्दै त्यसमा मन्त्रीले राजीनामा दिनुपर्ने आफूहरुको माग रहेको बताए।
“वहालवाला मन्त्री झण्डा हल्लाएर अख्तियारमा बयान दिन जाने, यससँगै छानविनलाई पनि अघि बढाउने विषय ठीक भएन, यसबाट छानबिन प्रक्रिया प्रभावित हुन्छ। छानविनलाई निष्पक्ष अघि बढाउन वर्तमान सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मार्गप्रशस्त गर्नुपर्छ।”
उनले अख्तियारको छानबिलाई निष्पक्षरुपमा अगाडि बढाउन पदमा बस्न नमिल्ने उल्लेख गरे।
यसैगरी सांसद पदम गिरीले पनि अख्तियारले बयानमा बोलाएका मन्त्री अर्बौंको भ्रष्ट्राचारको काण्डमा अख्तियारमा धाउनुपर्ने अवस्था आएको बताए। उनले मन्त्रीले झण्डा हल्लाउँदै बयान दिन जाने र अनुसन्धान प्रभावित पार्ने काम भएको भन्दै चर्को विरोध गरेका थिए।
प्रकाशित: ११ फाल्गुन २०८०, शुक्रबार