पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ विषयक सम्मेलन

Technology Khabar ११ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं ।

वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ विषयक सम्मेलन बिहिबारदेखि पोखरामा सुरु भएको छ।

वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको परिसरमा सुरु भएको उक्र सम्मेलनको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा डा दिलिप सुब्बाले गरे।

कार्यक्रममा उपकुलपति सुब्बाले समय सापेक्ष रुपमा नेपालमा पछिल्लो समयमा विज्ञान प्रविधिका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुँदै गएको बताए। सम्मेलनमा विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखा परेका प्रवृत्ति विषयमा हुने छलफल एवम् अन्तरक्रिया विज्ञान तथा प्रविधि क्षेत्रको अध्ययन अनुसन्धानका लागि  महत्वपूर्ण हुने उनको भनाइ थियो।

सम्मेलनका प्रमुख वक्ता नोबेल पुरस्कार विजेता डा सर रिचर्ड जोन रोबटर्सले व्यक्तिले सफल हुनका लागि मेहनत गर्नुपर्ने र उसलाई भाग्यले पनि साथ दिनुपर्ने बताए। असफलताबाट सिक्दै अघि बढ्नुपर्ने र जीवनको मर्म नै त्यही भएको उनको भनाइ थियो। आफ्नो जीवन भोगाइ, नोबेल पुरस्कारको यात्रा र सफलताका कथा सुनाउँदै रोबटर्सले विज्ञान तथा प्रविधि सम्मेलनमा नेपाल आउन पाएकामा प्रसन्नता व्यक्त गरे। उनलाई सन् १९९३ मा चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।

सम्मेलन आयोजक समितिका अध्यक्ष एवम् वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका प्रमुख प्रा विनोदप्रसाद हेज्युको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटा, पोखरा विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा दीपकबहादुर भण्डारी र वन विज्ञान अध्ययन संस्थानका डीन प्रा डा वीरबहादुर खनाल क्षेत्री, उपप्राध्यापक पवित्रा झालगायतले सम्मेलनको महत्वबारे प्रकाश पारेका थिए।

सम्मेलनमा देश विदेशका विभिन्न अनुसन्धानकर्तासहित दुई सय पचास जनाभन्दा बढीको सहभागिता छ। सम्मेलनको पहिलो दिन बिहिबारको प्राविधिक सत्रमा ५० ओटा प्रस्तुति तथा २५ भन्दा बढी विषयगत पोष्टर प्रस्तुत गरिएका थिए।

शुक्रबार प्रमुख वक्ता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा मेघनाथ धिमाल रहनेछन्। बाँकी २७ ओटा विषयगत सत्र सम्पन्न भएपछि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको प्रमुख आतिथ्यमा सम्मेलनको समापन हुने आयोजकले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया