टेरामोस काण्डमा मुछिएका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग

  • Technology Khabar | १० फाल्गुन २०८०, बिहीबार
टेरामोस काण्डमा मुछिएका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग
File.

काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले समसामयिक विषयमा देखिएका समस्याबारे आवाज उठाउँदै ती मुद्दाहरु सम्बोधन नगरे सदन अवरोध गर्ने चेतावनी दिएका छन्।

यसैगरी उनीहरुले टेरामोस (वा टेरामोक्स समेत भनिने) काण्डमा अख्तियारले बयान लिएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा समेत माग गरेका छन्।

बैठक आरम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले उठेर बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसद रघुजी पन्तलाई समय दिए।

नेता पन्तले सरकारमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसमेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गरेर बयान लिइरहेका समयमा मन्त्री बस्नेतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे।

“…नैतिकरुपले सबैभन्दा गंभिर कुरा त के छ भने पन्चायत कालदेखि अहिलेसम्म अख्तियारले बयान लिएपछि र बयान लिन बोलाएपछि कुनै मन्त्री पदमा बस्दैन्। तर अहिले मन्त्री झण्डा हल्लाउँदै बयानमा गएका छन्,” नेता पन्तले भने, “…सुशासनको भाषण गर्दै नथाक्ने तर भ्रष्ट्राचारमा अख्तियारले बोलायो भनेर भन्न नसक्ने… त्यसैले आजको मितिबाट… नम्बर एकमा स्वास्थ्य मन्त्री उहाँ त कुनै हालतमा बस्न मिल्दैन।”

एमालेका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रश्न उठेपछि राजीनामा दिएको सन्दर्भ उठाउँदै यस्तो अहिले नदेखिएको हुँदा त्यस्तो सैह्य नहुने पन्तले चेतावनी दिए।

उनले सकेमा कारबाही गर्नुपर्ने र नत्र भ्रष्ट्राचार गर्ने विवादास्पद मन्त्रीलाई नेकपा एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिए।

स्मरण रहोस् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामोस काण्डमा मुछिएका छन्। उनीसँग टेरामोसको छानबिन गरिरहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगले तत्कालिन संचारमन्त्रीको हैसियतमा गरेका निर्णयहरुको बारेमा बयान समेत लिईसकेको छ।

उनका साथै अर्का पूर्व संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग समेत अख्तियारले बयान लिईसकेको छ।

अख्तियारले उक्त प्रकरणको मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुर्याएको स्रोतले जानकारी दिएको छ।

प्रकाशित: १० फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार