टेकमाइन्ड्स नेटवर्कको बदमासीले सरकारी कार्यालयको सेवा प्रभावित

Technology Khabar ७ फाल्गुन २०८०, सोमबार

काठमाडौं ।

टेकमाइन्ड्स नेटवर्क प्रालिको लापरबाहीका कारण खोटाङमा सरकारी कार्यालयदेखि विभिन्न संघ संस्थाको सेवा प्रभावित बनेको छ। इन्टरनेट सेवा जडान गरेर मर्मतमा टेकमाइन्ड्स कम्पनीले ध्यान नदिँदा कार्यालयले प्रदान गर्ने सेवा प्रभावित भएको हो।

बढ्दो प्रविधिको प्रयोगसँगै जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयमा इन्टरनेटमार्फत सेवा प्रबाह सुरु गरिएको छ तर इन्टरनेट सेवाप्रदायक कम्पनीको लापरबाहीले स्थानीय तह तथा कार्यालयमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन्।

पैंतेलुखर्क गाउँपालिका-६, ज्यामिरे वडा कार्यालयमा माघ २५ देखि इन्टरनेट नचल्दा सेवा प्रभावित भएको वडाध्यक्ष सुनील राई बताउँछन्। बसाइँसराइ, जन्मदर्ता, जग्गाको तिरो तिर्ने, पञ्जीकरणका काम सबै अनलाइनबाट हुने गरेको छ तर वडा कार्यालयमा इन्टरनेट नचल्दा सेवा प्रभावित भएको उनको भनाइ छ। नागरिक काम लिएर वडामा आउँछन् तर इन्टरनेट नचलेर काम हुन पाएको छैन।

अहिले हातले लेखेर हुँदैन, सबै काम अनलाइनबाट गर्नु पर्छ। वडाध्यक्ष राई भन्छन्, “नागरिकको काम गर्न नसक्दा बडा कार्यालयमा ताला लगाउँछौं भन्न थालिसके। नेट कम्पनीमा फोन गर्दा भोलि बनाउँछौ मात्र भन्छन् तर बनाउन आउँदैनन्।”

ज्यामिरे वडा कार्यालयमा टेकमाइनको इन्टरनेट जडान गरेको तीन वर्ष भयो। करिब एक बर्ष अगाडि पनि ४२ दिन नेट बिसिएर सेवा प्रभावित भएको बडाध्यक्ष राईको भनाइ छ। ज्यामिरे वडा कार्यालयसँगै विद्यालयलगायत अन्य कार्यालय र व्यक्तिको घरमा पनि सोही कम्पनीको नेट राखिएको छ। अहिले सबै कार्यालयमा नेट बन्द छ।

सरकारी कार्यालयमा जडान गरिएको छ। ती सबै कार्यालयमा नेटले बेला बेला दुःख दिने गरेको बताइन्छ। टेकमाइनसँगै जिल्लामा सम्बालित अन्य नेटको हालत पनि उस्तै छ। सेवाग्राहीलाई बिनाभट छिटो सेवा दिने उद्देश्यले अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयले पेपरलेस (विनाकागजात) इन्टरनेटमार्फत कामसमेत सुरु गरेको भए पनि नेट नचल्दा सेवाग्राही मारमा परेका छन् १० स्थानीय तह रहेको जिल्लामा एक दर्जनभन्दा बढी इन्टरनेट सेवाप्रदायक कम्पनीको इन्टरनेट जडान गरिएका छन्।

कतिपयले सेवाग्राहीबाट अग्रिम भुक्तानी लिएर जडान गरिदिएका छन् भने कतिपयले मासिक रूपमा भुक्तानी लिने गरेका छन्।

यस विषयमा बुझ्न खोज्दा टेकमाइन्ड इन्टरनेटको शाखा कार्यालय खोटाङको सम्पर्क नम्बरको आगमन कल निषेध गरेर राखिएको छ। कार्यालय प्रमुख तथा प्राबिधिकको सम्पर्क नम्बर पनि व्यस्तमा राखिएको छ। गोरखापत्रबाट

प्रकाशित: ७ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया