आलाकार्टः आफूले हेर्ने च्यानलको मात्र रकम बुझाउन सेवाग्राहीलाई प्रसारण विभागको आग्रह

Technology Khabar ६ फाल्गुन २०८०, आईतवार

काठमाडौं ।

सूचना तथा प्रसारण विभागले टेलिभिजन प्रयोगकर्तासँग आफूले हेर्ने वा हेर्न चाहेको च्यानलको मात्र रकम बुझाउन आग्रह गरेको छ।

विभागले आइतबार पत्रकार सम्मेलन गर्दै आलाकार्ट प्रणाली कार्यान्वयनमा आइसकेकाले प्रयोगकर्तालाई आफूले हेर्ने वा हेर्न चाहेको च्यानलको मात्र पैसा बुझाउन आग्रह गरेको हो।

विभागका निर्देशन डा. सुवोध नेपालले, ‘आलाकार्ट प्रणालीमा सेवाग्राहीले आफूले चाहेको च्यानमात्र हेर्न पाउँछन्। अब सेवा प्रदायकले उपलब्ध गराएको टेलिभिजन मात्र हेर्नु पर्ने बाध्यता अन्त्य भइसकेको छ,’ डा. नेपालले भने, ‘आलाकार्ट प्रणाली अन्तर्गत उपभोक्ताले आफूले हेर्ने च्यानलको मात्र पैसा तिर्नु पर्छ।’

सरकारले गत मंसिर १ गतेदेखि नै आलाकार्ट प्रणाली कार्यान्वयनमा ल्याएको थियो। तर प्राविधिक तथा आवश्यक पूर्व तयारी पर्याप्त नभएकाले आलाकार्ट प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा भने जान सकेको थिए।

हाल पुन विभागले फागुन २ गते सूचना जारी गर्दै सेवाग्राहीलाई आलाकार्ट प्रणाली अन्तर्गत शुल्क बुझाउन र सेवा प्रदायकलाई पनि सोही अनुरुप शुल्क संकलन गर्न भनेको छ।

यदि सेवा प्रदायकले मंसिर १ गते अगावै ग्राहकबाट उठाइएको अग्रिम सेवा शुल्कको उचित समायोजन हुने गरी शुल्क समायोजन योजना तयार गर्न पनि विभागले भनेको छ।

‘सेवाग्राहीले आफूसँग आवद्ध भएका सम्पूर्ण ग्राहकलाई तत्काल बुके तथा च्यानलहरु छनोटका लागि उपलब्ध गराउनु पर्छ। निश्चित अवधिका लागि अग्रिम भुक्तानी गरिसकेका ग्राहकहरुलाई पनि सेवा प्रदायकले बुके तथा च्यानलहरु छनोटको विकल्प प्रदान गर्नु पर्छ,’ डा. नेपालले भने, ‘सेवाग्राहीले चाहेको च्यानल वा थप बुके अग्रिम भुक्तानी गरेको रकमबाट नबढ्ने गरी उपलब्ध गराउनु पर्छ।’

फागुन २ गतेदेखि अनिवार्य आलाकार्ट कार्यान्वयनमा ल्याउनु भनेर राष्ट्रिय प्रसारण ऐन अन्तर्गत कारबाही गर्ने भनेर सेवाप्रदाकहरुलाई पत्र पठाइएको पनि उनले जानकारी दिए। केही सेवाप्रदायकले चरणबद्ध रुपमा आकार्ट सुरु गरिरहेको र केहीले पूर्णरुपमा सुरु गरिसकेको भनेर जानकारी प्राप्त भएको विभागले जनाएको छ।

साथै सेवाप्रदायकले सूचना प्रणाली, वेबसाइट मार्फत आफ्ना सम्पूर्ण ग्राहकलाई आलाकार्ट मूल्य प्रणाली सम्बन्धी जानकारी उपलब्ध गराउन पनि निर्देशन दिएको विभागले जानकारी दिएको छ।

प्रकाशित: ६ फाल्गुन २०८०, आईतवार

तपाइको प्रतिक्रिया