
काठमाडौं ।
जापानी स्टार्टअप पोरमेडटेकले मानवमा प्रत्यारोपण गर्न उपयुक्त अंगहरू बनाउन आनुवंशिक रूपमा इन्जिनियर गरिएको तीन ओटा नवजात सुँगुर जन्मिएका छन्।
प्रत्यारोपण गरिएको अण्डा प्राप्त गर्ने आमाबाट आइतबार सुँगुरका पाठोहरुको जन्म भएको हो।
“हामी अन्ततः जापानमा बिरामीहरूको लागि अन्तर–प्रजाति अंग प्रत्यारोपण लागू गर्नको लागि सुरुवाती लाइनमा छौं’’, पोरमेडटेकका प्रतिनिधि निर्देशक हिरोशी नागाशिमाले भने। नागाशिमा टोकियोको मेइजी युनिभर्सिटीमा प्रोफेसरको रूपमा पनि काम गर्छन्।
पोरमेडटेकले सेक्टेम्बरमा अमेरिकी बायोमेडिकल कम्पनी ईजेनेसिबाट सम्पादित सुँगरको कोशिका प्राप्त गरेको थियो।
जापानी स्टार्टअपले अण्डा कोशिकाहरूमा कोशिका केन्द्रकहरू सम्मिलित गर्यो पछि पाठेघरमा प्रत्यारोपण गरेका थिए। जसबाट क्लोन सुँगुरको जन्म भएको थियो।
सुँगुरबाट आनुवंशिक रूपमा इन्जिनियरीङ्ग गरिएको दाता अंग शरीरको प्रतिरक्षा प्रणालीद्वारा अस्वीकार नगर्ने गरी डिजाइन गरिएको हो।
ईजेनेसिसले विकास गरेको सुँगुरको किड्नी (मिर्गौला) बाँदरमा प्रत्यारोपण गर्दा २ वर्षसम्म बाँच्न सफल भएको जापानी पत्रिका निकाईले रिपोर्ट गरेको छ।
आर्थिक वर्ष २०२५ सम्ममा सुँगुर र मानिसबीच अन्तरप्रजाति प्रत्यारोपणका लागि क्लिनिकल परीक्षण गर्ने योजना छ। यस अघि बाँदर र अन्य परीक्षण जनावरहरूमा प्रयोगात्मक प्रत्यारोपण गरिनेछ।
क्लिनिकल एप्लिकेसनका लागि कम्पनीको पहिलो लक्ष्य मृगौला (किड्नी) हो। जापानमा किड्नी दाताको चरम अभाव छ। जापानमा करिब ३ लाख ५० हजार मानिस किड्नीको समस्याका कारण डाइलोसिस गर्दै आइरहेका छन्। जसका लागि हप्तामा कयौं पटक अस्पताल जानु पर्ने बाध्यता छ।
जापानमा डायलासिसका लागि वार्षिक १०.७ बिलियन अमेरिकी डलर खर्च हुँदै आएको छ। यो देशको कुल चिकित्सा लागतको ४ प्रतिशत हो।
प्रकाशित: ४ फाल्गुन २०८०, शुक्रबार