Technology Khabar १ फाल्गुन २०८०, मंगलवार
काठमाडौं ।
विश्वको अग्रणी चिप निर्माता टीएसएमसीले कथित रूपमा आफ्नो उन्नत ३ एनएम चिपहरूको उत्पादन बढाउने भएको छ। आफ्ना उत्पादनका लागि अत्याधुनिक प्रोसेसर खोज्ने टेक जायन्टहरूबाट माग बढेको कारणले विस्तार गरिएको बताइएको छ।
सन् २०२३ मा, एप्पल ३ एनएम चिपहरूको लागि टीएसएमसीको प्राथमिक ग्राहक थियो भने यसको प्रयोग आईफोन १५ प्रो स्मार्टफोनहरूमा गरियो। यद्यपि, क्वालकम, मिडियाटेक, एनभीडिया, र इन्टेल जस्ता प्रमुख खेलाडीहरूले पनि चासो देखाएको र अर्डरहरू गरेको जनाइएको छ।
यो मागलाई समायोजन गर्न, टीएसएमसीले आफ्नो मासिक ३ एनएम वेफर उत्पादनलाई सन् २०२४ सम्ममा एक लाख युनिट (इकाइ) मा पुर्याउने उल्लेख छ। साथै कम्पनीले उच्च दक्षताका लागि आफ्नो प्रोडक्सन यिल्ड (उत्पादन उपज) सुधार गर्न पनि प्रयास गरिरहेको छ।
टीएसएमसीको सुधारिएको दोस्रो पुस्ताको ३ एनएम प्रक्रिया (एन३ई) ले किफायती हुँदै थप राम्रो पर्फमेन्स प्रदान गर्ने जनाइएको छ। यसले गर्दा सम्भवतः ग्राहकहरुको चासोमा वृद्धि भएको छ, जसको फलस्वरूप मागमा पनि वृद्धि भएको छ।
साथै प्रमुख टेक कम्पनीहरूले उनीहरूको पहिलो ३ एनएममा आधारित डिभाइस लन्च गर्न थालेका हुनाले यस वर्ष सम्भवतः सेमीकन्डक्टर बजारमा उच्च प्रतिस्पर्धा देखिने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १ फाल्गुन २०८०, मंगलवार