भारतको ओला इलेक्ट्रिक लिथियम खानी अधिकारको लागि बोलपत्रमा सहभागी हुने

Technology Khabar २९ माघ २०८०, सोमबार

काठमाडौं ।

भारतमा ठूला विद्युतीय दुईपाङ्ग्रे सवारी कम्पनी मध्येको एक ओला इलेक्ट्रिकले लिथियम खानीको अधिकारका लागि बोलपत्र गर्ने योजना बनाएको छ।

यसले कम्पनीको विद्युतीय सवारी साधन (ईभी) को ब्याट्री निर्माण गर्ने योजनालाई सहज बनाउन सक्छ। गत वर्ष भारतको केन्द्र सरकारले लिथियम जस्ता दुर्लभ खनिजको लिलामीको पहिलो चरण सुरु गरेको थिय।

भारतको कुल कार बिक्रीमा ईभीको हिस्सा करिब दुई प्रतिशत रहेको छ। सरकारले सन् २०३० सम्ममा ३० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।

रोयटर्सको रिपोर्टले स्रोतलाई उद्धृत गर्दै भन्यो, “ओला इलेक्ट्रिकले लिथियम खानीको अधिकार प्राप्त गर्न चासो देखाएको छ। यस लिलामी सम्बन्धी बैठकहरूमा कम्पनीका कार्यकारीहरू सहभागी भएका छन्।”

कम्पनीले चाँडै लिथियम आयन सेलहरू निर्माण गर्न थाल्ने उल्लेख छ। तमिलनाडुको कृष्णगिरीमा निर्माण भइरहेको कम्पनीको गिगाफ्याक्ट्री यसै महिनादेखि सञ्चालनमा आउनेछ।

यो गिगाफ्याक्ट्रीले पूर्ण क्षमतामा पुगेपछि करिब २५ हजार जनालाई रोजगारी दिनेछ। ओला इलेक्ट्रिकका संस्थापक भाविश अग्रवालले हालै चेन्नईमा आयोजित तमिलनाडु ग्लोबल इन्भेस्टर्स मीटमा यो जानकारी दिएका थिए। उनले भनेका थिए, “यस गिगाफ्याक्ट्री सुरु भएपछि ओला इलेक्ट्रिक देशमा लिथियम आयन सेल उत्पादन गर्ने पहिलो कम्पनी हुनेछ।” यस गिगाफ्याक्ट्रीको क्षमता १०० गिगावाट घण्टा हुनेछ। यो ५ गिगावाट घण्टाको क्षमता सहित सुरु हुनेछ।

ओला इलेक्ट्रिकले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) मार्फत ६६२ मिलियन डलर उठाउने योजना बनाएको छ। यसमा नयाँ सेयर निष्कासनसँगै जापानको विद्यमान लगानीकर्ता सफ्टबैंकको पनि शेयर बिक्री हुनेछ। कम्पनीले यस आईपीओबाट प्राप्त रकमको केही अंश यस गिगाफ्याक्ट्रीको विस्तारमा प्रयोग गर्नेछ।

गत वर्ष, ओला इलेक्ट्रिकले नयाँ फन्डिङ सुरक्षित गरेको थियो र यसले कम्पनीको मूल्य ५.४ बिलियन डलर बनाएको थियो।

प्रकाशित: २९ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया