सजिलो डिजिटल नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु

Technology Khabar २६ माघ २०८०, शुक्रबार

काठमाडौं ।

नेपालभित्रको जुनसुकै ठाउँको ठेगाना प्लेट पाँच मिनेटमै तयार गर्न सकिने मोबाइल एप र वेबमा आधारित डिटिजल ठेगाना प्लेट प्रणाली ‘कताहो’ सञ्चालनमा आएको छ।

पाँच वर्षको अनुसन्धानपछि विकास भएको ‘कताहो’ ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर पनि समावेश गर्न सकिन्छ।

काठमाडौंमा बुधबार सुरु भएको क्यान इन्फोटेक २०२४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘कताहो’ को औपचारिक उद्घाटन गरिन्।

देशको सम्पूर्ण भूभागलाई १५ अर्ब २ करोड हाराहारी प्लट (टुक्रा) मा विभाजन गरी हरेक प्लट (टुक्रा) का लागि शब्द र अंक मिलाएर एउटा युनिक नाम दिई यो प्रणाली तयार गरिएको साढे दुई दशकभन्दा बढी समयदेखि नवप्रवर्तनको क्षेत्रमा सक्रिय राम र लक्ष्मण रिमालले बताए।

उनीहरुका अनुसार ‘कताहो’ को सहायताले नेपालको जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ। राम र लक्ष्मण ग्रुप संलग्न रहेको एड्रेसग्राफ प्रालिले यो प्रणाली विकास गरेको हो।

यो डिजिटल ठेगाना प्रणालीमा सामुदायिक रूपमा टोल विकास तथा समितिबाट राखिएका घरका नम्बर समेत राख्न सकिन्छ । यसको लक्ष्य दूरदराजमा रहेका पालिकाका घर, गोठ, टहरा, सीमाचिह्न, प्राकृतिक सम्पदा जस्ता हरेक स्थानको नम्बर तयार गर्नु रहेको रिमालद्वयको भनाइ छ।

यो प्रणालीमा विश्वस्तरीय ठेगानाको प्लस कोड तथा घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन पनि सकिन्छ। यो प्रणाली सबैका लागि बहुउपयोगी सिद्ध हुने अपेक्षा गरिएको छ।

‘कताहो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुने एड्रेसग्राफको भनाइ छ।

कम्पनीका अनुसार गाउँपालिका तथा नगरपालिकाले यो प्रणालीको प्रयोगबाट धेरै काम प्रभावकारी रूपमा गर्न सक्छन् । सबभन्दा पहिलो– यो प्रणाली प्रयोग गरेर पालिकाहरूले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई तुरुन्तै घर नम्बर दिन सक्छन्।

सेवाग्राहीलाई करको दायरामा ल्याउन पनि पालिकाहरुले यो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न सक्छन् । यसको माध्यमबाट नक्सामै कुन कुन क्षेत्रका कुन कुन घर व्यावसायिक हुन्, कुन आवासीय हुन् पत्ता लगाउन सकिन्छ । तीमध्ये कति करका दायरामा छन् र कसरी कर तिरिरहेका छन् भन्ने कुरा पनि प्रस्टै देखिन्छ।

दैवी विपत्ति, घटना दुर्घटना तथा विपत्को सूचना र त्यसको प्रतिकार्यमा यो डिजिटल ठेगाना प्रणालीको प्रयोग एकदमै उपयोगी हुन्छ । पालिकाका बासिन्दालाई आपत् पर्दा ‘कता हो’ कोडको अन्तिम १ शब्द र नम्बर मात्रैले उक्त व्यक्ति कुन ठाउँमा छ, ठ्याक्कै पत्ता लगाएर उद्धार सकिने बताईएको छ।

‘कताहो’ वेब र मोबाइल एप (एन्ड्रोइड र एप्पल) भर्सनमा उपलब्ध रहेको जनाएको छ।

प्रकाशित: २६ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया