एमाले सांसद गिरीले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा सरकारको धारणा खोजे

Technology Khabar २४ माघ २०८०, बुधबार

काठमाडौं ।

नेकपा एमाले सांसद पदमप्रसाद गिरीले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा सरकारको धारणा खोजेका छन्। एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदन तर्फ संकेत गर्दै सांसद गिरीले यस सम्बन्धमा सरकारको धारणा खोजेका हुन्।

‘प्रतिवेदनमा खरिद सम्झौता असंवैधानिक र वदनियत पूर्ण भएको भनिएको छ। यथास्थितिमा यो कारोबार गर्न हुँदैन भनिएको छ।’ धेरै तथ्य तथ्यांक त्यहाँ भित्र आएको भन्दै उनले बुधबार प्रतिनिधि सभामा एनेसेलको शेयर खरिद बिक्री प्रक्रियाको सम्बन्धमा सरकारको धारणा माग गरेका हुन्।

साथै उनले उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्ने आट छ कि छैन भनेर सरकारको क्षमता माथि पनि प्रश्न उठाएका छन्।

‘प्रतिवेदन कार्यान्वयन गर्छ कि गर्दैन,’ उनले भने, ‘यो प्रतिवेदन देखाउन र जनताको आँखामा छारो हाल्नका निम्ति बनाइएका हुन्।’

यस विषय जनता र सदनले नजिकबाट हेरिरहेको भन्दै उनले सरकारको ध्यानकर्षण पनि गराए।

साथै उनले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा आफ्नो मान्छे नियुक्ती गर्ने कार्यमा सरकार लागेको उनको आरोप छ।

अध्यक्ष नियुक्तिका निम्ती कानुनभन्दा बाहिर गएर योग्यताको मापदण्ड निर्धारण गरिएको उनको दाबी छ।

‘यसरी योग्यता मापदण्ड निर्धारण गरिन्छ कि उहाँहरुले ल्याउन चाहेको र पदमा राख्न चाहेको त्यही व्यक्तिलाई मात्र अनुकुल हुने गरी मापदण्ड तयार गरिएको छ,’ उनले भने।

अनि तपाईहरुले सुशासन दिन सक्नु हुन्छ, इमानदारिता छ भन्दै सरकार माथि आक्रोश व्यक्त गरे।

प्रकाशित: २४ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया