काठमाडौँ महानगरपालिले निःशुल्क उपचारका लागि अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउँदै

Technology Khabar २४ माघ २०८०, बुधबार

काठमाडौं ।

काठमाडौँ महानगरपालिका भित्र १० प्रतिशत निःशुल्क उपचारका लागि अनलाइन प्रणाली फागुन १ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।

यसैगरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ।

प्रमुखको कार्यकक्षमा मंगलबार बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिहरुसहितको वैठक समिति गठन गरेको हो। लक्षित वर्गलाई अस्पतालहरुबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन निर्देशक समितिको नेतृत्व हुनेछ।

यसलाई जनस्वास्थ्य विभागले कार्यान्वयन गर्नेछ । यसको प्रभावकारी कार्यान्वयनका लागि महानगरपालिकाले निःशुल्क उपचार सम्बन्धी कार्यविधि, २०८० जारी गरिसकेको छ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, यस्तै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन समितिको सदस्य छन्। यस्तै संघीय स्वास्थ्य मन्त्रालयकातर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयकातर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलकातर्फबाट बिश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुकोका छाता संगठन (एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल) का वागमती प्रदेश अध्यक्ष चण्डेश्वर वैद्य, नेपाल नर्सिङ्ग काउन्सिलकातर्फबाट शुक्ला खनाल सदस्य हुनुहुन्छ । सरकारी अस्पतालहरुका प्रमुखमध्ये कान्ति अस्पतालबाट पङ्कज राय सदस्यमा मनोनित छन्। समितिको सदस्य सचिव स्वास्थ्य विभागका प्रमुख सजिना महर्जन छिन् ।

वैठकमा प्रमुख शाहले भने, ‘सेवा दिन पनि र लिन पनि सहज होस भन्ने हाम्रो उद्देश्य हो। कानुनले दिएको अधिकारको कार्यान्वयन गराउन स्वास्थ्य संस्थालाई सहज होस, लक्षित वर्गले निःशुल्क उपचार प्रभावकारी रुपमा प्राप्त गर्न सकुन भन्ने हाम्रो चाहना हो। यसका लागि हामीले साझेदारहरुसँग छलफल गरेका छौँ । हामीले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली सजिलो खालको छ। सेवाप्रदायक र सेवाग्राहीलाई प्रविधिले जोड्छ। यसमा अप्ठ्यारो परे महानगरपालिकाले सहजीकरण गर्छ।’

प्रणालीको अभ्यास गरौँ। प्रयोगमा आइसकेपछि यसका सवल र दुर्वल पक्ष थाहा हुनेछन् र यसपछि सुधार गर्नु पर्ने ठाउँमा सुधार गर्दै जाने प्रमुख शाहको भनाइ छ।

निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन महानगरपालिकाले (फ्रीहेल्थ डट काठमाडौँ डट जीओभी डट एनपी) https://freehealth.kathmandu.gov.np/ वेभ ठेगानामा प्रणाली विकास गरेको छ। यो प्रणालीले कुन अस्पतालमा कुन सेवा छ। वेड संख्या कति हो । कतिवडा वेडमा विरामीले उपचार गराइरहेका छन्। कतिवटा खाली छन् जस्ता जानकारी देखाउँछ।

वैठकमा जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले प्रणालीका विशेषताका बारेमा जानकारी गराएका थिए। उनकाअनुसार क्षेत्रपाटी निःशुल्क चिकित्सालय र काठमाडौँ मोडेल अस्पतालमा यो प्रणाली परीक्षण भइसकेको छ।

यसमा कुन रोगको कति जनाले उपचार गराए, कति दिन गराए, को कहिले भर्ना भयो, कहिले डिस्चार्ज भयो, सबै विवरण उपलब्ध हुनेछन् ।

सरकारले जारी गरेको विपन्न परिचय पत्र तथा वडाका शिफारिसका आधारमा सेवा उपलब्ध हुनेछ। यो सेवा देशभरिका नागरिकका लागि हो।

प्रणाली चलाउन युजर नेम र पासवर्ड चाहिन्छ। विभागले माघको २५ गतेदेखि २९ गतेसम्म महानगरपालिका क्षेत्र भित्रका सबै निजी अस्पतालहरुका प्रमुख र मेडिकल रेकर्डरलाई अभिमुखीकरण प्रदान गर्ने योजना बनाएको छ। जनस्वास्थ्य विभागका प्रमुख सजिना महर्जनले भनिन्, ‘अभिमुखीकरणपछि अस्पतालहरुलाई प्रणाली चलाउन युजर नेम र पासवर्ड प्रदान गरिनेछ।’

बैठकमा सहभागीहरुले लक्षित वर्गले उपचारका लागि पुग्ने बाटो छोटो बनाउन, लक्षित वर्गले उपचार पाउने प्रणाली सुनिश्चित गर्न सुझाव दिएका थिए। यस्तै झुटो विवरणका सिफारिस रोक्ने, दबाब सिर्जना गर्न नसकिने पद्धति अबलम्बन गर्दै जानु पर्ने साझेदारहरुको सुझाव छ।

जटिल खालका रोगका उपचार गराउन अस्पतालहरुलाई कठिन भए संघीय सरकारले व्यवस्था गरेको आकस्मिक स्वास्थ्य कोष प्रयोगमा ल्याउनुपर्ने उनीहरुको सुझाव छ।

प्रकाशित: २४ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया