Technology Khabar २४ माघ २०८०, बुधबार
काठमाडौं ।
किरिन ९०००एस चिप रहेको मेट ६० सिरिजको लोकप्रियताका कारण ह्वावेको स्मार्टफोन बिक्रीमा गत वर्ष उल्लेखनीय वृद्धि भएको थियो।
यद्यपी ७ एनएम प्रक्रियामा निर्मित ९०००एस, टप–पर्फमिङ्ग (उच्च प्रदर्शन) गर्ने स्मार्टफोन चिपसेट होईन तर यसको इन–हाउस विकास ह्वावेको लागि उल्लेखनीय उपलब्धि भएको उल्लेख छ।
फाइनान्सियल टाइम्सको एक रिपोर्टअनुसार अब ह्वावेले ५एनएम चिप उत्पादन गर्ने लक्ष्य राखेको छ। साथै साझेदारको रुपमा ह्वावेले चीनको सबैभन्दा ठूलो चिप निर्माता एसएमआईसीलाई चयन गरेको छ, जसले ह्वावेद्वारा डिजाइन गरिएका चिपहरू बनाउनको लागि विशेष गरी शंघाईमा नयाँ सेमिकन्डक्टर लाइन स्थापना गरेको छ।
बाइडेन प्रशासनले राष्ट्रिय सुरक्षा चिन्तालाई उद्धृत गर्दै उन्नत चिपमेकिंग इक्विपमेन्टमा कडा निर्यात प्रतिबन्ध लगाएको बेलामा यो कदम आएको छ।
यसका साथै, अमेरिकी सरकारले चीनलाई अत्याधुनिक चिप उत्पादन इक्विपमेन्टहरू पहुँच गर्न गाह्रो बनाउनका लागि भनेर नेदरल्याण्ड्स र जापानसँग पनि काम गरिरहेको बताइएको छ।
हालका लागि, एसएमआईसीले आफ्नो अवस्थित डीयूभी इक्विपमेन्टहरू ५एनएम चिप उत्पादनको लागि पुनः निर्माण गरिरहेको बताइएको छ। यद्यपि, यस अप्रोचले कम उपज र चिपसेटको उच्च लागत निम्त्याउन सक्ने थप जनाइएको छ।
यसबाहेक, ह्वावेको ५एनएम चिपले क्वालकम वा मिडियाटेकको फ्ल्यागशिप चिपसेटहरूसँग प्रतिस्पर्धा गर्नका लागि सक्षम नहुने भए तापनि चीनको सेमिकन्डक्टर उद्योगले अमेरिकी प्रतिबन्धको बावजुद अझै प्रगति गरिरहेको छ।
योजनाहरूसँग परिचित एक इनसाइडर (उद्योग भित्रका) व्यक्तिले भनेअनुसार नयाँ ५ एनएम नोडको साथ, ह्वावे आफ्नो नयाँ फ्ल्यागशिप ह्यान्डसेट र डाटा सेन्टर चिपहरू अपग्रेड गर्न ट्र्याकमा रहेको छ।
ह्वावेले स्मार्टफोनहरूको पी७० सिरिजमा आगामी किरिन एसओसी प्रयोग गर्ने अफवाह रहेका छन्। यसबाहेक, कम्पनीले ह्वावेको स्वामित्वको कर्नेलमा निर्मित नयाँ पुस्ताको अपरेटिङ सिस्टम हार्मनी ओएस नेक्स्टमा सक्रिय रूपमा काम गरिरहेको उल्लेख छ।
प्रकाशित: २४ माघ २०८०, बुधबार