वार्षिकोत्सवको मुखैमा नेपाल टेलिकमलाई १ लाख रुपैयाँ जरिवाना, नेटवर्क र बिलिङ्ग सिस्टम सुधार्न निर्देशन

Technology Khabar २२ माघ २०८०, सोमबार

वार्षिकोत्सवको मुखैमा नेपाल टेलिकमलाई १ लाख रुपैयाँ जरिवाना, नेटवर्क र बिलिङ्ग सिस्टम सुधार्न निर्देशन
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

सरकारी टेलिकम अपरेटर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो २० औं वार्षिकोत्सव मनाईरहँदा नियामक निकायले भने कम्पनीको नेटवर्क र बिलिङ्ग सिस्टमको बारेमा गंभिर प्रश्न उठाएको छ।

गत वर्ष नेपाल टेलिकमको नेटवर्क र बिलिङ्ग सिस्टम दुई दिन पुरै दिनभर ठप्प भएको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले ५० हजार रुपैयाँको दरले कम्पनीलाई जरिवाना गरेको छ।

नियामक निकाय प्राधिकरणको बोर्ड बैठकले २०७९ फागुन ३ गते र ४ गते नेपाल टेलिकमको सेवा अवरुद्ध भएको विषयमा छानबिन तथा अनुसन्धान समितिको प्रतिवेदनको आधारमा दुबै दिनका लागि ५० हजार रुपैयाँको दरले १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।

टेक्नोलोजीखबरले टेलिकम स्रोतबाट पाएको कागजातहरुकाअनुसार २०७९ फागुन ३ गते र फागुन ४ गते भएको सेवा अवरोधको बारेमा दुबै दिनका लागि फरक फरक पत्र पठाउँदै नियामकले जरिवाना गर्नुका साथै विभिन्न निर्देशनहरु दिएको देखिन्छ।

यस्तै, कानून विपरित भए गरेका कार्य १५ दिन भित्र बन्द/सुधार गरी प्राधिकरणलाई जानकारी गराउन समेत निर्देशन दिएको छ।

फागुन ३ गते टेलिकमको दूरसञ्चार सेवा अवरूद्ध भएको बारेमा

प्राधिकरणको फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखाले २०८० पुस १३ गते दिएको निर्देशनमा फागुन ३ गतेको टेलिकमको दूरसञ्चार सेवा अवरूद्ध भएको बारेमा स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

“तहाँ कम्पनीको मोबाईल सेवामा पटक पटक समस्या आएको सन्दर्भमा यस अघि प्राधिकरणले दिएको निर्देशनहरु पालना नगर्दा सेवा अवरूद्ध हुने घटनाहरु बढेको र २०७९ फागुन ०३ गते बुधवारको दिन तहाँको दूरसञ्चार सेवा अवरूद्ध भएको सन्दर्भमा तहाँले प्राधिकरणमा पेश गर्नु भएको स्पष्टिकरण समेत चित्तबुझ्दो नदेखिएकोले दूरसञ्चार ऐन २०५३ को दफा ४७(१) बमोजिम रु. ५०,०००/- (अक्षरेपी पचास हजार मात्र) जरिवाना तोकि २० दिन भित्र असुल उपर गर्ने प्राधिकरणबाट निर्णय भएको हुँदा तहाँले उक्त जरिवाना रकम तोकिएको समयावधि भित्र प्राधिकरणमा बुझाउनु हुन र कानून विपरित भए गरेका कार्य १५ दिन भित्र बन्द / सुधार गरी प्राधिकरणलाई जानकारी गराउन निर्णयानुसार निर्देशन गरिएको छ” टेक्नोलोजीखबरले पाएको पत्रमा भनिएको छ।

यसका साथै प्राधिकरणले फागुन ३ गते सेवा अवरुद्ध भएको बारेमा विभिन्न पाँच बुँदे सुधारात्मक उपायहरु अपनाउनसमेत भएको छ।

जसमा मोबाइल सेवाको सम्बन्धित प्रणालीसँग आवद्ध उपकरणहरु तथा लिंकहरुमा कुनै किसिमको अनियमित वा संवेदनशील गतिविधि (Abnormalities or Critical Alarms) वा कुनै समस्या आउने बित्तिकै सम्बन्धित प्रणालीबाट स्वचालित रुपमा इमेल, एसएमएस लगायत विभिन्न माध्यमबाट अलर्ट नोटिफिकेसन सम्बन्धित पक्षलाई तत्काल जाने व्यवस्था गर्न निर्देशन दिईएको छ भने एउटा लिंकमा प्याकेट लस हुँदा अर्को लिंकमा ट्राफिक राउट हुने गरी कोर सिस्टमबाट ट्रिगरिङ्ग हुने गरी तत्काल व्यवस्था गर्न भनिएको छ।

यस्तै मोबाइल सेवासँग सम्बन्धित भेन्डर (ब्याकबोन, कोर, बीआरएएस (BRAS) र अन्य कुनै) सँग छलफल गरीलोड ब्यालेन्सिङ्गको फुल फिचरहरु शिघ्र कार्यान्वयन गर्ने भनिएको छ।

मोबाइल सेवासँग सम्बन्धित प्रणालीहरुको प्राविधिक परीक्षण (Technical Audit) सम्पन्न गरी प्राधिकरणमा प्रतिवेदन पेश गर्न र सातै दिन चौबिसै घण्टा पररफरमेन्स मनिटरिङ्ग सिस्टमको व्यवस्था गर्न सुझाब दिईएको छ।

अध्ययन समितिको निष्कर्ष

२०७९ फागुन ०३ गते बुधवार (१५ फेब्रुअरी २०२३) दिउँसो १२:४० बजेदेखि आंशिक रुपमा मोबाइल फोन नलाग्ने समस्या शुरु भएको थियो। विशेषगरी दिउँसो १:२९ बजेदेखि दिउँसो १:४४ बजेसम्मको समयमा अत्याधिक मात्रामा कल नलाग्ने समस्या भएको पाइएकोमा १४:२५ बजे सम्ममा पूर्णरुपमा समस्या समाधान भएको अध्ययन समितिले उल्लेख गरेको छ।

समितिको अध्ययनमा मोबाइल फोन नलाग्रे समस्या हुनाको कारण समेत उल्लेख गरिएको छ। जसमा मुख्यगरी चार ओटा गंभिर समस्या वा त्रुटीहरु पहिचान गरिएको थियो। उक्त त्रुटीहरु निम्न छन्-

– नेपाल टेलिकमको जावलाखेल स्थित Kathmandu LTE core Router: KTM M6K8SP-1 र Patan CTNI (CTN 9000 E 1) बीचको लिंकमा मिति २०७९/११/०३ गते दिउँसो smoke Ping Graph बाट १२:४० देखि १४:२० सम्मको अवधिमा अत्याधिक मात्रामा Packet Loss भएको पाईएको ।

– १२:५३:२३ बजे देखि १४:२०:०० को अवधिमा Patan CTN1 (CTN9000 E 1) Router मा अत्याधिक मात्रामा MAC Moving Alarms हरु आएको र १३:३०:०२ बजे देखि १५ मिनेट भन्दा बढी समयावधि सम्म Kathmandu LTE Core Router: KTM M6K8SP- 1 र Patan CTNI ( CTN 9000 E 1) बीचको लिंकको utilization ले ७० प्रतिशतको Threshold भन्दा अधिक ८२.३८९ पुगी High Alarm आएको भए तापनि त्यस्तो समस्या आउने बित्तिकै सम्बन्धित प्रणालीबाट स्वचालित रुपमा इमेल, एसएमएस वा अन्य माध्यमहरुबाट जिम्मेवार अधिकारीहरुलाई Alert Notification तत्काल जाने व्यवस्था नगरेको।

– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको एउटा लिंकमा Packet Loss हुँदा अर्को लिंकबाट Traffic Route हुने गरी Core system बाट Triggering हुने व्यवस्था साथै Load Balancing को full features कार्यान्वयन नगरेको ।

– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले 24×7 Performance Monitoring System को व्यवस्था नगरेको ।

फागुन ४ गते बिलिंग प्रणालीमा देखिएको समस्याको बारेमा

यसैगरी प्राधिकरणले २०७९ फागुन ४ गते मोवाइल सेवाको बिलिंग प्रणालीमा देखिएको समस्याको बारेमा समेत छुट्टै पत्र पठाएर कारबाही गरिएको जानकारी गराएको छ। जसमा प्राप्त स्पष्टिकरण चित्तबुझ्दो नदेखिएको तथा नेपाल टेलिकमले पोस्टपेड बिलिङ्गको कन्फिगरेसन अध्यावधिक नगरी लापरवाही गरेको पाईएकोले ५० हजार रुपैयाँ जरिवाना गरेको २०८० माघ १४ गते पत्र पठाएर जानकारी गराएको छ।

उक्त निर्देशनयुक्त पत्रमा भनिएको छ, “मोवाइल सेवाको बिलिंग प्रणालीमा मिति २०७९ फागुन ४ गते समस्या आएको विषयमा… प्राप्त स्पष्टिकरणको अध्ययनबाट २०७९ फागुन ४ गते बिहान ६:२७ बजे देखि देखिएको समस्या बिहान ११ बजे मात्र समाधान भएकोले तत्काल समाधान भएको भन्ने अवस्था नरहेको, ग्राहकहरुको गुनासोको आधारमा मात्र सञ्चालन भईराख्नु पर्ने ग्राहकहरुको सेवा पनि क्रेडिट बार भएको भन्ने थाहा हुन आएको, त्यस्तो समस्याको विषयमा ग्राहकलाई समयमै एसएमएस पठाउन नसकेको भन्ने लगायत तहाँबाट प्राप्त स्पष्टिकरण चित्तबुझ्दो नदेखिएको तथा तहाँले पोस्टपेड बिलिङ्गको कन्फिगरेसन अध्यावधिक नगरी लापरवाही गरेको पाईएको।”

सो पत्रमा तोकिएको जरिवाना ३० दिन भित्र असुल उपर गर्ने प्राधिकरणबाट निर्णय भएको हुँदा उक्त जरिवाना रकम तोकिएको समयावधि भित्र प्राधिकरणमा बुझाउन र कानून विपरित भए गरेका कार्य १५ दिन भित्र बन्द/सुधार गरी प्राधिकरणलाई जानकारी गराउन समेत निर्देशन दिईएको छ।

यस बाहेक नियामकले नेपाल टेलिकमलाई विभिन्न थप सुधारात्मक उपायहरु अपनाउन समेत भनेको छ।

जसमा पोस्टपेड सेवाको बिलिंग प्रोसस संचालन गर्दा कुनै पनि प्रोसेस,थ्रेड, सिस्टम आदिमा समस्या आउनासाथ तत्काल अटोमेटिकल्ली अलर्ट आउने गरी तत्काल व्यवस्था गर्ने। पोस्टपेड सेवाको बिलिंग प्रोसस ‘रन’ गर्दा साथै अन्य क्रिटिकल प्रोसेसहरु रन गर्दा समेत सम्बन्धित बिभाग/शाखा/महाशाखाका अधिकारीहरु तथा आपूर्तिकर्ता कम्पनीका सपोर्ट टिम (विज्ञहरु) स्ट्याण्डवाई (तयारी अवस्थामा) बस्नु पर्ने र कुनै समस्या आएको देखासाथ तत्काल सो समाधान गर्ने। तेस्रो पक्षबाट बिलिंग प्रणालीको नियमित रुपमा सिस्टम अडिट गराउने विषयहरु अपनाउन भनिएको छ।

अध्ययन समितिको निष्कर्ष

नेपाल टेलिकमको २०७९ फागुन ४ गते भएको बिलिङ्ग समस्याको बारेमा पनि समितिले त्रुटीहरु र कमजोरीहरु फेला पारेको छ। समितिकाअनुसार  सो दिन पोस्टपेड मोबाइल सेवाको बिलिंगमा समस्या आई फोनकल निषेध भएको थियो।

नेपाल टेलिकमको पोस्टपेड मोवाइल सेवाको बिलिंगमा समस्या आएको कारण २०७९ फागुन ०४ गते (१६ फेब्रुअरी २०२३) बिहिबारको दिन बिहान ६:२७ बजे देखि ११:०० बजेसम्म पोस्टपेड मोवाइल सेवाका ४० हजार ग्राहकहरुको फोनकल निषेध (Call barred) भएको, साथै ब्यालेन्सहरु पनि बिग्रिएकोमा उक्त समस्या पहिचान गरी सोही दिन ११:०० बजे सम्ममा समस्या समाधान गरिएको देखिएको छ।

अध्ययनकाअनुसार टेलिकमको पोस्टपेड मोबाइल सेवाको बिलिंगमा समस्या आई फोनकल निषेध हुनाको कारण सो दिन पोस्टपेड मोवाइल सेवाका ४० हजार ग्राहकहरुको कल नलाग्ने भई समस्या उत्पन्न भएको देखिन्छ। जसमा कारणहरु निम्न छन्-

– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पोस्टपेडको सक्रिय ग्राहक संख्या December, 2022 मा नै १५ लाख भन्दा बढी पुगीसकेको र सो को लागि Tmp Folder को Size 360 GB राखी Configuration गर्नुपर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र बिलिंगका सम्बन्धित आपूर्तिकर्ता कम्पनी AsiaInfo ले Tmp Folder को Size 360 GB कम राखेको । सोही कारण Billing Run गर्दा Confirm Bill Process नामको एउटा Process को लागि Insufficient Memory हुन गई सो Process Initialization Fail भएको र ब्यालेन्सहरु बिग्रिन गई फोनकल निषेध (Call barred) भएको ।

– पोस्टपेड मोवाइल सेवाको Billing Process गर्दा वा Billing Run गर्दा कति ग्राहक संख्याको लागि कति Tmp Folder को Size आवश्यक पर्छ भन्ने विषयमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र बिलिंगका सम्बन्धित आपूर्तिकर्ता कम्पनी AsiaInfo लाई पहिले नै थाहा हुने विषय हो।

– त्यसकारण नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र बिलिंगका सम्बन्धित आपूर्तिकर्ता कम्पनी AsiaInfo ले जिम्मेवारीका साथ कार्य नगरेकोले समस्या आएको।

स्मरण रहोस २०७९ फागुन ३ गते र फागुन ४ गते लगातार नेपाल टेलिकमको सेवामा समस्या देखिएको थियो। उक्त सेवामा देखिएको समस्याको अनुसन्धान गरेर छानबिन गर्न प्राधिकरणले निर्देशक विजयकुमार रोयको संयोजकत्वमा छानबिन समिति पनि गठन गरेको थियो। सोही समितिले नेपाल टेलिकमसँग स्पष्टिकरण माग गरेको र छानबिन गरेको थियो भने माथि उल्लेखित छानबिन र कारबाही गर्ने निष्कर्ष निकालेको हो।

उक्त कमिटीको प्रतिवेदन लामो समयसम्म प्राधिकरणको बोर्डमा छलफलको क्रममा रहेको थियो। सोही प्रतिवेदनको आधारमा प्राधिकरणले थप कारबाही र सुझाबहरु नेपाल टेलिकमलाई दिएको हो।

यस बाहेक उक्त घटना हुनु अघिनै २०७९ माघ ३ गते समेत नेपाल टेलिकमको सेवा अवरुद्ध भएको बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत छानबिन समिति गठन गरेको थियो। जसले समेत विभिन्न त्रुटीहरु औंल्याई जिम्मेबार अधिकारीहरुलाई कारबाही गर्न भनेको थियो।

सम्बन्धित समाचार-

टेलिकमको सेवा ठप्प हुनुमा व्यवस्थापन र भेण्डरहरुको चरम लापरबाही, कास ट्रेडिङ्गद्वारा मनलाग्नी सिस्टम मर्मत

यसका टेलिकमका कर्मचारीहरुले समेत त्यसैबेला विरोध गर्दै जिम्मेबार अधिकारीहरुलाई कारबाही गर्न माग गरेका थिए।

सम्बन्धित समाचार-

टेलिकमको सिस्टम डाउन गराउने दोषी उपर कारबाही गरी क्षतिपूर्ति असुल गर्न कर्मचारीहरुको माग

प्रकाशित: २२ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया