
काठमाडौं ।
नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्न ‘कताहो’ सफ्टवेयर तथा एप्लिकेसन सञ्चालनमा आउने भएको छ। नवप्रवर्तनको क्षेत्रमा काम गर्दै आइरहेका रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालको रामलक्ष्मण ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले कताहो सफ्टवेयर तथा एप्लिकेसन सञ्चालनमा ल्याउन लागेका हुन्।
कताहो आगामी माघ २५ गतेदेखि आयोजना हुने क्यान इन्फोटक मार्फत सुरुवात गरिने कम्पनीले जानकारी दिएको छ।
कताहो मार्फत घर ठेगानाको प्लेट पाँच मिनेटमै तयार गर्न सकिने र कुनै पनि ठाउँको नाम नदोहोरिने बहुउपयोगी डिजिटल ठेगाना प्रणाली विकास गरिएको छ। देशको सम्पूर्ण भूभागलाई १५ अर्ब २ करोड हाराहारी प्लट (टुक्रा) मा विभाजन गरी हरेक प्लट (टुक्रा) का लागि शब्द र अंक मिलाएर एउटा युनिक नाम दिइएको यो प्रणालीको सहायताले जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिने कम्पनीको दाबी छ। यो नक्शा होइन, बरु जुनसुकै नक्शामा पनि प्रयोग हुने अपरिहार्य पूर्वाधार हो । अझ यसको मुख्य विशेषता भनेको यो ठेगाना बनाउन र पत्ता लगाउन इन्टरनेट को प्रयोग गर्नु पर्दैन, अफलाइन नै यसलाई प्रयोग गर्न सकिन्छ।
यसको प्रमुख ’कार्य जोसुकैले पनि आफ्नो घरको ठेगाना प्लेट बनाउन सक्नु र बनाएर आफै टाँस्न पनि सक्नु हो। जसमा कताहो कोड, गुगलको प्लस कोड, घन्टी बजाउने क्यू आर कोड (भविष्यमा धेरै सेवाहरु प्रदान गर्न सकिने) आफ्नो निवासको नाम आफै राख्न सकिने, पहिला भइरहेको ठेगाना समेत जोड्न सकिन्छ। जसले गर्दा घर नम्बर प्लेटमा एकरुपता दिन सकिन्छ भने प्लेट को स्वामित्त प्रयोग कर्तालाई नै दिइने भएकोले जहिलेपनि आफ्नो प्लेट अध्यावधिक राख्न मद्दत गर्दछ।
पाँच वर्षको अनुसन्धानपछि विकास भएको मोबाइल एप र वेबमा आधारित ‘कताहो’ नामको ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर समावेश गर्न सकिन्छ।
त्यस्तै सामुदायिक रूपमा टोल विकास तथा समितिबाट राखिएका घरका नम्बर समेत यो डिजिटल ठेगा प्रणालीमा राख्न सकिन्छ। यो प्रणालीको लक्ष्य दूरदराजमा रहेका पालिकाका घर, गोठ, टहरा, सीमाचिह्न (Landmark), प्राकृतिक सम्पदा जस्ता हरेक स्थानको नम्बर तयार गर्नु रहेको छ।
घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन सकिने अत्याधुनिक नम्बर प्लेट प्रणाली ‘कता हो’ यसै वर्षको सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेक २०२४ को पहिलो दिन २०८० माघ २५ गते विधिवत् उद्घाटन हुँदैछ। दुई दशकभन्दा बढी समयदेखि नेपालमा उपयोगी प्रविधिको अनुसन्धान र विकास गरिरहेको रामलक्ष्मण ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले यो प्रणाली विकास गरेको हो। यो प्रणाली सर्वसाधारण, पालिका, हरेक तहका सरकार, संघ संस्था लगायत हरेकका लागि बहुउपयोगी सिद्ध हुने अपेक्षा गरिएको छ।
‘कता हो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ’ठेगाना प्लेट’ निःशुल्क तयार गरी आफूलाई मन परेको मेटेरियलमा ( फलाम को पाता, अल्युमिनियम पाता, मेटल इचिंग, इन्ग्रेभिंग आदि) नजिकको प्रिन्टिङ सेवा प्रदान गर्ने सेवा प्रदायक बाट प्रिन्ट गराउन सक्छन्। यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुन्छ । यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ। उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पुर्याउन एकदमै उपयोगी र प्रभावकारी रहने अपेक्षा गरिएको छ।
यो प्रणालीको विषेशताः
– ठेगाना, बाटोको नाम जस्ता काममा खर्च हुने सरकारको ठूलो धनराशि बचत हुने
– बोलेर स्थान शेयर गर्न सकिने
– आपतकालीन अवस्थामा तुरुन्त सहयोग पाउन सकिने
– घरको साथै देशको जुनसुकै ठाउँको डिजिटल ठेगाना तयार गर्न सकिने
– ठेगाना पाटी (एड्रेस प्लेट)मा रहेको क्युआर कोडमार्फत घन्टी (Door Bell) बजाउन सकिने
– ठेगाना पाटी (एड्रेस प्लेट)मा अंग्रेजी अक्षर समेत प्रयोग भएकाले पथप्रदर्शक र पर्यटकले पनि प्रयोग गर्न सक्ने
– स्थानीय तहले सजिलो र छिटोछरितो रूपमा आफ्नो क्षेत्रभित्रका घर तथा संरचनाको नक्सांकन गर्न सकिने
– सार्वजनिक सम्पत्ति, सम्पदा जस्ता संरक्षण क्षेत्रहरु छुट्ट्याई अभिलेखन गर्न सकिने
– पालिका तथा अन्य सरकारी निकायको लागि छुट्टै अफलाइन सफ्टवेयरको व्यवस्था
– जुनसुकै डिजिटल नक्सामा पनि प्रयोग गर्न सकिने
– सरकारी तथा सबै प्रकारका KYC फारममा उल्लेख गर्न सकिने ठेगाना कोड
– सर्वसाधारण र सबै तहका सरकारलाई एप र वेब सेवा निःशुल्क प्रदान गरिने भएकाले लाभान्वित हुन सक्ने
प्रकाशित: २१ माघ २०८०, आईतवार