Technology Khabar १८ माघ २०८०, बिहीबार
काठमाडौं ।
कम्युटर एशोसिएसन अफ नेपाल (क्यान) को २९औँ क्यान इन्फोटेक आयोजना हुने भएको छ। क्यान महासंघले बिहीबार काठमाडौंको बानेश्वरमा आयोजीत एक पत्रकार सम्मेलनमा ‘क्यान इन्फोटेक २०२४’ आयोजना गरिने जानकारी दिएको हो।
काठमाडौंको भृकुटीमण्डपमा २०८० सालको माघ २५ गते देखि सुरु हुने उक्त पाँच दिनको सूचना तथा प्रविधिसम्बन्धी प्रदर्शनी माघ २९ गते समापन हुने जनाइएको छ।
नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघका अध्यक्ष रणजीत पोदारले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताए । ‘प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’ पोदारले भने ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। साथै कार्यक्रमा बोल्दै महासंघका महासचिव अधिकारीले सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवशेक रणनिती निमार्णका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले माघ २५ गतेदेखि माघ २९ गते (फेब्रुअरी ८ देखि १२) सम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मेला हुन लागेको जानकारी दिए।
मेलामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सफ्टवेयर, फिन्टेक, इन्टरनेट सेवा प्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स, मोबाइल तथा मोबाइल एक्सेसरिज, टेलिकम्युनिकेसन्स, आइटी कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्स, स्टार्टअप र इन्नोभेसनका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीको सहभागिता रहने बताईएको छ।
प्रकाशित: १८ माघ २०८०, बिहीबार