
काठमाडौं ।
विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि धनगढीमा आजबाट चैतन्य स्टिम वर्कसप सुरु भएको छ।
धनगढीस्थित चैतन्य पाठशालाले वर्कसपको आयोजना गरेको हो । एक समारोहकाबिच सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले त्यसको उद्घाटन गरेका थिए।
सो क्रममा मन्त्री धामीले विज्ञान र प्रविधिको विकासका लागि काम गरिरहेको चैतन्य पाठशालासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए। मन्त्री धामीले विज्ञान तथा प्रविधिमा रुचि राख्ने सुदूरपश्चिमका धेरै विद्यार्थीले विभिन्न चिजको आविष्कार गरेको भन्दै प्रोत्साहनका लागि उनीहरूलाई प्रदेश सरकारले सम्मान गर्ने बताए । मन्त्रीले भने, “विज्ञान प्रविधिमा प्रदेशलाई कसरी हब बनाउन सकिन्छ ? त्यसतर्फ हाम्रो ध्यान जानु पर्दछ।”
एक हप्तासम्म आयोजना हुने सो वर्कसपमा विद्यार्थीलाई रकेट विज्ञान, सेटेलाइट निर्माण, ड्रोन, अहिलेको प्रविधि र ज्ञानको कुराबारे सिकाइने जनाइएको छ । विद्यार्थीलाई राष्ट्रिय आविष्कार केन्द्रमा काम गरिरहेका वैज्ञानिकले प्रशिक्षण दिनेछन् ।
प्रविधिलाई शिक्षासँग जोड्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै चैतन्य पाठशालाका प्रिन्सिपल कटक सिंहले एक हप्तासम्म विद्यार्थीलाई विज्ञान तथा प्रविधिको बारेमा प्रशिक्षण दिइने बताए।
अहिलेको युग सृजना र नवप्रर्वनको रहेको जनाइएको छ । यस अनुसार चल्न नसके मानिस पछाडि पर्ने चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीको ठहर छ । उनले स्मार्ट फोनमात्रै बोकेर नहुने उल्लेख गर्दै पढाइको पद्धति पनि स्मार्ट हुनु पर्नेमा जोड दिए। पढाइलाई स्मार्ट बनाउन आफ्नो विद्यालयले स्मार्ट बोर्ड प्रयोगको थालनी गरिरहेको उनको भनाइ थियो ।
चैतन्य स्टिम वर्कसपमा धनगढीका विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ।
प्रकाशित: १८ माघ २०८०, बिहीबार