रोबोटिक वारमा नेपालले जित्यो स्वर्ण

Technology Khabar १६ माघ २०८०, मंगलवार

रोबोटिक वारमा नेपालले जित्यो स्वर्ण
सांकेतिक

काठमाडौं ।

विश्वकर्मा ब्याटल अफ टाइटन्स नामक अन्तर्राष्ट्रियस्तरको रोबोटिक वारमा नेपाली टोलीले स्वर्णपदक जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा नेपालको टोलीले भारतको इनभेन्सियल टिमलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो।

उपाधिसहित नेपालले रु तीन लाख ५० हजार प्राप्त गर्यो। त्यसैगरी, दोस्रो स्थानमा चित्त बुझाएको भारतको इनभेन्सियल टिमले रु एक लाख ५० हजार प्राप्त गर्यो।

विजेता टोलीलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पुरस्कार प्रदान गरे।मन्त्री साउदले अबको युग रोबर्टको युग रहेको चर्चा गरे।

नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सङ्घले एतिहासिक प्रतियोगिताको आयोजना गरेको बताए।

नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा भएको उक्त प्रतियोगितामा यही माघ १३ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानका १४ ओटा समूहले प्रतिस्पर्धा गरेका थिए।

खेल, मनोरञ्जन, सृजना र आविष्कारलाई एकमुष्ठ प्रतिबिम्बित गर्ने यस प्रतियोगितामा प्रत्येक प्रतियोगी समूहले आफैँले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एकापसमा भिडाइ उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गरेका थिए । रासस

प्रकाशित: १६ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया