राहदानी विभागका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईको विरुद्ध भ्रष्ट्राचार मुद्दा

Technology Khabar १५ माघ २०८०, सोमबार

काठमाडौं ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईका विरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ।

उनले सेवाग्राहीहरुलाई राहदानी बनाइदिने भनी रकम लिएको भन्दै राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको पत्र/उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीको लागि राहादानी बनाएवापत सेवाग्राहीसँग ३४ हजार रुपैयाँ घुस/रिसवत माग गरी लिएको देखिएको आयोगको दाबी छ।

भट्टराईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्य कार्य गरेको पुष्टि भएको हुँदा निज प्रदिप भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो चौतीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिमको बिगो तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजायलगायतको माग दाबी गरेको छ।

यसका साथै सुमी धामी भन्ने सुमित्रा सापकोटाले घुस लिने/दिने कार्यमा भट्टराईसँग मिलेमतो गरी घुस वापतको रकम भट्टराईको खातामा जम्मा गरेको समेत पाइएकोले सापकोटालाई घुस/रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) बमोजिमको कसुरमा सजायको माग गरेको छ।

अख्तियारले सोही ऐनको दफा ३ को उपदफा (४) वमोजिम सजाय हुन मागदाबी लिई आइतबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ।

प्रकाशित: १५ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया