इरानले घरेलु रकेट मार्फत तीन भूउपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण गर्यो

Technology Khabar १४ माघ २०८०, आईतवार

काठमाडौं ।

इरानले आइतवार सफलतापूर्वक तीन भूउपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण गरेको बताएको छ। पश्चिमी देशहरुले तेहरानको ब्यालिस्टिक क्षेप्यास्त्रहरू सुधार गरेको बताउँदै आएका बिचमा यो प्रक्षेपण भएको एसोसिएटेड प्रेसले उल्लेख गरेको छ।

इरानको राज्य-संचालित आईआरएनए समाचार एजेन्सीले भनेअनुसार प्रक्षेपणमा इरानको सिमोर्ग रकेटको सफल प्रयोग पनि देखियो, जुन विगतमा धेरै पटक असफल भएको थियो।

एसोसिएटेड प्रेसको रिपोर्टअनुसार इरानको सरकारी टेलिभिजनले जारी गरेको फुटेजमा सिमोर्ग रकेटको लागि राती प्रक्षेपण गरिएको देखाइएको छ। फुटेजको विवरणको विश्लेषणले यो इरानको ग्रामीण सेमनान प्रान्तको इमाम खोमेनी स्पेसपोर्टमा भएको देखाएको रिपोर्टमा उल्लेख छ।

सरकारी टेलिभिजनले प्रक्षेपण गरिएका स्याटेलाइटहरूलाई महदा, केहान-२ र हतेफ-१ नाम दिएको छ। यसले महदालाई अनुसन्धान भूउपग्रहको रूपमा वर्णन गरेको छ, जबकि कायहान र हातेफ क्रमशः ग्लोबल पोजिसनिङ र सञ्चारमा केन्द्रित नानो भूउपग्रहहरू थिए।

यस्तै स्याटेलाइट बोक्ने रकेट सिमोर्ग कार्यक्रमका लागि यसअघि लगातार पाँच पटक असफल प्रक्षेपण भएका छन्।

संयुक्त राज्य अमेरिकाले यसअघि नै इरानको भूउपग्रह प्रक्षेपणले संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावलाई अवहेलना गरेको बताएको थियो र तेहरानलाई आणविक हतियारहरू पुर्याउन सक्षम ब्यालिस्टिक मिसाइलहरू समावेश गर्ने कुनै गतिविधि नगर्न आग्रह गरेको छ। इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमसँग सम्बन्धित संयुक्त राष्ट्र प्रतिबन्धको म्याद गत अक्टोबरमा सकिएको थियो।

अमेरिकी खुफिया समुदायको २०२३ विश्वव्यापी खतरा मूल्याङ्कनले स्याटेलाइट प्रक्षेपण वाहनहरूको विकासले इरानलाई अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल विकास गर्ने समयलाई छोटो पार्ने बताएको थियो, किनभने यसले ब्यालिस्टिक मिसाइल र लन्चिङ्ग भेहिकलका लागि समान प्रविधि प्रयोग गर्दछ।

प्रकाशित: १४ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया