दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग

  • Technology Khabar | १४ माघ २०८०, आईतवार
दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग

काठमाडौं ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै सातदिने म्यादसहित आवेदन माग गरेको हो।

नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेस गर्न सूचना प्रकाशित गरिएको उल्लेख छ।

सूचनाअनुसार दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

आवेदन दिनका लागि तोकिएको योग्यतामा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० दस वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ।

तर सरकारी सेवा वा सार्वजनिक संस्थान प्राधिकरण बोर्ड समिति आयोग प्रतिष्ठान बा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिको पदमा काम गरेको अनुभव प्राप्त गरेको हुनुपर्नेछ।

यसैगरी प्रचलित कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्नेछ।

उपरोक्त योग्यता पुगेका इच्छुक व्यक्तिले देहायका कागजातहरू संलग्न गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्म दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

नियुक्ति हुन चाहनेले नेपालीभाषामा बढीमा ५,००० शब्दको सिलबन्दी व्यावसायिक कार्ययोजना समेत बुझाउनुपर्नेछ।

दरखास्त पेस गर्ने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले सातौं दिन वा सो दिनमा सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र तोकिएको छ। दरखास्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय संस्थान समन्वय शाखामा बुझाउन भनिएको छ।

सूचनाअनुसार उम्मेदवारले पेस गरेको व्यावसायिक कार्य योजना, सोको प्रस्तुतीकरण र अन्तवार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि सिफारिस गरिनेछ।

प्रकाशित: १४ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...