भेटी रकमबाट सिसीटिभी क्यामरा जडान

Technology Khabar १३ माघ २०८०, शनिबार

भेटी रकमबाट सिसीटिभी क्यामरा जडान
सांकेतिक तस्बिर

काठमाडौं ।

बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाट सिसीटिभी क्यामरा जडान गरिएको छ।

गलेश्वर शिवालय क्षेत्र विकास कोष र पुलत्स्य पुलह अन्न क्षेत्रको लगानीमा जडान गरिएको सिसीटिभीको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गरे। गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालन गरेर बजारको सुरक्षाका लागि सिसीटिभी राखिएको जानकारी दिए।

“रु दुई लाख ५१ हजार खर्चेर गलेश्वर बजार प्रवेशद्धारबाट राहुघाट पुलसम्म छ स्थानमा सिसीटिभी क्यामरा जडान गरेर गलेश्वर प्रहरी चौकीबाट निगरानी गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, “कोषले मन्दिरको भेटी र अन्न क्षेत्रले दाताको सहयोग जुटाएर कुल लागतको आधा–आधा लगानी गरेका हौँ।”

कोषले गत वर्ष रु दुई लाख ३० हजार सात सय ५० खर्च गरेर गलेश्वर बजारमा ५५ सडकबत्ती जडान गरेको थियो। सडकबत्ती जडान गरेपछि बजारको सुरक्षाका लागि सिसीटिभी जडान गरिएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए।

सिसीटिभी र सडकबत्तीले स्थानीय, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई सुरक्षित तथा सहज बनाएको छ । सिसीटिभी मर्मत र सडकबत्तीको विद्युत् महसुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गर्ने कोषले जनाएको छ।

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पुजारी, कर्मचारीको तलब, संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रम सञ्चालन र पूर्वाधार निर्माणमा परिचालन हुँदै आएको छ। भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएका छन् ।

प्रकाशित: १३ माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया