सञ्चार सेवाबाट टाढा पातारासीको गढीगाउँ

  • Technology Khabar | ११ माघ २०८०, बिहीबार
सञ्चार सेवाबाट टाढा पातारासीको गढीगाउँ

काठमाडौं ।

जुम्लाको पातारासी गाउँपालिका–१ मा रहेको गढीगाउँ आजसम्म पनि सञ्चारको सुविधाबाट बञ्चित छ।

जिल्लाको पूर्वी भेगमा पर्ने पातारासीको बजार क्षेत्रमा पर्ने डिल्लीचौर लासीआसपास गाउँबाहेक पातारासीका धेरैजसो गाउँ सञ्चारविहीन रहेको स्थानीयवासी दिनेश ऐडीले जानकारी दिए।

सदियौँदेखि सञ्चारविहीन गढीगाउँका बासिन्दाले पुरानै प्रणालीअनुसार खबर आदान–प्रदान गर्दै आएका छन्। खबर आदान–प्रदान गर्न रैबार पठाउने वा मान्छेमार्फत खबर आदान–प्रदान गर्ने गरिन्छ। दुई सय ५० घरधुरी रहेको गढीगाउँमा एक हजार चार सय ५८ जनसङ्ख्या रहेको त्यहाँका बासिन्दाको भनाइ छ।

वडासचिव नरबहादुर बुढाका अनुसार वडा कार्यालयमा टेलिफोन र इन्टरनेट नहुँदा अनलाइनमार्फत गर्नुपर्ने पञ्जीकरणका काम गाउँपालिकाको कार्यालय डिल्लीचौर पुगेर गर्नुपरेको छ।

गाउँमा टेलिफोन सेवा नहुँदा खबर आदानप्रदान गर्न निकै समस्या भएको छ। देशको राजनीतिक गतिविधिदेखि अन्य समसामयिक जानकारी पाउन पनि यहाँका बासिन्दा बञ्चित भएको उनको भनाइ थियो।

यहाँ कोही बिरामी परे समयमै स्वास्थ्य संस्था लैजाने साधन पाउन पनि मुस्किल हुनाका साथै तुरुन्तै खबर आदान–प्रदान गर्न पनि कठिन हुन्छ। तल्फीको गाउँमाथि डाँडामा टेलिफोनको टावर निर्माणाधीन अवस्थामा छ।

सो टावर बनेपछि गाउँमा टेलिफोनको सुविधा पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिए। रासस

प्रकाशित: ११ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...