एमडीएमएसका विषयमा अख्तियारले दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुसँग धमाधम बयान लिँदै

Technology Khabar ११ माघ २०८०, बिहीबार

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले लागू गरेको भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को अनुसन्धानका क्रममा प्राधिकरणका कर्मचारीहरुलाई बयान लिन शुरु गरेको छ।

अख्तियार स्रोतकाअनुसार हालसम्म करिब आधा दर्जन कर्मचारीहरुसँग पालैपालो बयान लिईसकेको छ।

अख्तियारले उक्त निर्णय प्रकृयामा सहभागी रहेका करिब दुई दर्जन कर्मचारी र विज्ञहरुसित बयान लिने तयारी गरेको छ।

यसअघि अख्तियारले टेरामोस प्रकरणमा पनि प्राधिकरणका कर्मचारी र विज्ञ तथा निर्णय प्रकृयामा सहभागीहरुसँग बयान लिएको थियो। हाल उक्त अनुसन्धान समेत अन्तिम चरणमा छ।

यस्तै एमडीएमएस टेरामोस भन्दा पनि भद्रगोल र शंकास्पद भएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिवेदन बुझाएसँगै उक्त प्रतिवेदनकै आधारमा समेत कर्मचारीहरुलाई सोधपुछ गरिरहेको छ।

एमडीएमएस खरिद प्रकृयामा संलग्न भएका प्राधिकरणका २० कर्मचारी र विज्ञहरुको नाम अख्तियारमा

बयान दिएका कर्मचारीहरुका अनुसार कम्तिमा तीन दिनसम्म लिखित बयान लिईएको छ। जसले गर्दा टेरामोसको बयान भन्दा कठिन भएको उनीहरुले बताउँदै आएका छन्।

अख्तियार स्रोतले कर्मचारीहरुको बयान सकिएपछि अन्य निर्णय प्रकृयामा रहेका सम्बन्धितहरुको बयान समेत लिईने जनाएको छ।

देशभित्र अवैधरुपमा मोबाइल आयातलाई रोक्न लागू गर्ने भनिएको एमडीएमएस सिस्टम हालसम्म जडान हुन नसकेको टेक्नोलोजीखबरले खुलासा गरेको थियो। त्यसबेला उक्त सिस्टमनै जडान नगरि प्राधिकरणले दूरसञ्चार ऐन २०५३ काअनुसार निर्देशन दिएर करिब ८०४ ओटा आईफोनहरु ब्लक गराएको थियो।

जसलाई सरकारले पनि सो सिस्टम संचालनमा नरहेको स्वीकार गरेको छ।

हेर्नुस् समाचार-

एमडीएमएस संचालनमा नरहेको थप पुष्टि, प्राधिकरणले गलत र भ्रामक प्रचार प्रसार गरी भ्रम सिर्जना गरेको प्रतिवेदन

प्रकाशित: ११ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया