राष्ट्रिय परिचयपत्रकै बायोमेट्रिक्स प्रयोग गरेर राहदानी दिने तयारी

  • Technology Khabar | ९ माघ २०८०, मंगलवार
राष्ट्रिय परिचयपत्रकै बायोमेट्रिक्स प्रयोग गरेर राहदानी दिने तयारी

काठमाडौं ।

परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबीच यसविषयमा छलफल भएको हो।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफलअनुसार छलफलमा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टबेयर राहदानी विभागले प्रयोग गरे सेवाग्रहीले अनलाइनमार्फत राहदानीका लागि आवेदन दिन पाउने र हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्ने व्यवस्था हुने छ।

यसका साथमा सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुने अनुमान छ ।

छलफलमा राहदानी विभागका महानिर्देशक लक्ष्मण खनालले दसैँयता राहदानी विभागमा सेवाग्राहीको भीड नरहेको बताउँदै रातिसम्म काम गरेर सिफ्ट प्रणालीमा द्रूत सेवामा सेवा प्रवाह भइरहेको बताए। उनले जिल्ला प्रशासन कार्यालयलगायत ९४ वटा सरकारी निकायबाट राहदानीसम्बन्धी काम भइरहेको जानकारी दिँदै जिल्ला प्रशासन कार्यालयका राहदानी शाखालाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्र वितरणमा प्रगति भएको बताउँदै एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गरेर लैजानुपर्ने बताए।

प्रकाशित: ९ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार