
काठमाडौं ।
नेपाल इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात घट्दो क्रममा देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकमा देखिन्छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपालमा ४२ करोड ५ लाख ८७ हजार रुपैयाँ बराबरको ३ हजार ६६७ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा ६५ करोड २८ लाख ६३ हजार रुपैयाँ बराबरको ५ हजार १३३ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको थियो।
एक वर्षको अवधिमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात २३ करोड २२ लाख ७६ हजार रुपैयाँ आर्थत ३५.५८ प्रतिशतले घटेको छ।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात १ हजार ४६६ यूनिट आर्थत २८.५४ प्रतिशतले घटेको छ।
इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयातबाट सरकारले १३ करोड ६३ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
नेपालमा चार मुलुकबाट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
नेपालमा सबैभन्दा धेरै चीनबाट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात हुने गरेको छ। चीनबाट २४ करोड ७४ लाख ९५ हजार रुपैयाँ बराबरको २ हजार ७३८ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।
भारतबाट १५ करोड ५३ लाख ६० हजार रुपैयाँ बराबरको ८५५ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।
इन्डोनेसियाबाट १ करोड ७७ लाख १९ हजार रुपैयाँ बराबरको ७२ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।
यूएईबाट १२ हजार रुपैयाँ बराबरको २ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।
प्रकाशित: ९ माघ २०८०, मंगलवार