सामाजिक सञ्जालले पत्रकारिता समस्यामा, टिकटकमा मान्छे रमाउन थालेः अर्थमन्त्री डा. महत

  • Technology Khabar | ६ माघ २०८०, शनिबार
सामाजिक सञ्जालले पत्रकारिता समस्यामा, टिकटकमा मान्छे रमाउन थालेः अर्थमन्त्री डा. महत

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको स्पष्ट पारेका छन्। गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल हो ।’

उनले भने, ‘सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेका छन् । हात–हातमा स्मार्टफोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ । कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन्। हेर्दाहेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ। आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे। मानिसहरु गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले । गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउने मानिसहरुले छाडे। यो अत्यन्तै खतरनाक हो।’

‘बीपी कोइरालाले भन्नुभएको थियो, ‘जब सत्यको मुख बन्द हुन्छ, झुटोको थुतुनो चल्छ। अहिले सामाजिक सञ्जालबाट धेरैजसो झुटोको थुनुतो चलेको छ। सत्य बुझेकाहरु गाली खाइछ भनेर चुप लागेर बसेका छन्,’ मन्त्री डा. महतले भने, ‘सामाजिक सञ्जालमा मात्र निर्भर हुनुहुँदैन, मूलधारका सञ्चारमाध्यमलाई पनि अगाडि ल्याउनुपर्छ। परम्परागत सञ्चारमाध्यमको विश्लेषण हुन्छ, छलफल हुन्छ, जिम्मेवारी हुन्छ, निरन्तरता लिइराखेको हुन्छ, यसलाई मर्न दिनु हुँदैन।’

प्रतिबन्धित अवस्थामा पनि निर्भिक भएर पत्रकारितामार्फत् आफ्नो कुरा राख्नु चानचुने कुरा नभएको उनले बताए।

प्रकाशित: ६ माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार