Technology Khabar ५ माघ २०८०, शुक्रबार
काठमाडौं ।
जापानको अन्तरिक्ष एजेन्सी ‘जाक्सा’ को मुन मिसनले यही जनवरी २० तारिख शनिबार चन्द्रमामा अवतरण गर्ने प्रयास गर्नेछ । यदि सबै योजना अनुसार भयो भने, जापान चन्द्रमामा अवतरण गर्ने पाँचौं देश बन्नेछ।
गत वर्ष सेप्टेम्बर ७ मा जापानले स्लीम (स्मार्ट ल्याण्डर फर इन्भेस्टिगेटिङ्ग मून Smart Lander for Investigating Moon) नामक अन्तरिक्ष यान मिसनमा प्रक्षेपण गरेको थियो।
‘स्लिम’ ल्यान्डरले नेपाली समयअनुसार राति करिब ९:०५ बजे चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने प्रयास गर्ने बताईएको छ।
चार महिना लाग्यो स्लीम मिसनलाई
जापानी मिसनले प्रक्षेपण गरेको करिब ४ महिनापछि चन्द्रमामा अवतरण गर्ने प्रयास गरिरहेको छ। यसअघि भारतीय अन्तरिक्ष एजेन्सी इसरोलाई चन्द्रमामा पुग्न ४० दिन लागेको थियो।
यसको मुख्य कारण जापानले चन्द्रमामा पुग्न प्रयोग गरेको स्लीम अन्तरिक्ष यानको लामो बाटो हो। यसले इन्धन खपत घटाएको छ। जापानको अन्तरिक्ष यानले ४ महिनाको यात्रामा करिब एक महिनादेखि चन्द्रमाको परिक्रमा गरिरहेको छ।
कहाँ अवतरण हुनेछ जापानको अन्तरिक्ष यान ?
जापानी मिसनले चन्द्रमाको शिओली क्रेटरमा अवतरण गर्ने प्रयास गर्नेछ। जापानी अन्तरिक्ष एजेन्सीको उद्देश्य तोकिएको स्थानमा सटीक अवतरण हासिल गर्नु र अनुसन्धानलाई सफल बनाउनु हो। स्लीम ल्यान्डरको तौल करिब २०० केजी रहेको छ।
गत वर्ष सेप्टेम्बरमा, जाक्साले चन्द्रमामा सफ्ट ल्याण्डिङको उद्देश्यले स्लिम स्पेसक्राफ्ट (SLIM) लन्च गरेको थियो। अन्तरिक्ष यानलाई एच-२ए नामक रकेटमार्फत चन्द्रमामा पठाइएको थियो।
अहिलेसम्म अमेरिका, रुस, चीन र भारत गरी चार देशले चन्द्रमामा सफलतापूर्वक अवतरण गर्न सफल भएका छन् ।
प्रकाशित: ५ माघ २०८०, शुक्रबार