Technology Khabar ५ माघ २०८०, शुक्रबार
काठमाडौं ।
सामसङले बुधबार राति आफ्नो नयाँ पुस्ताको फ्ल्यागशिप ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनहरू अनावरण गरेको छ। त्यसका साथै दक्षिण कोरियाली ब्रान्डले आफ्नो पहिलो स्मार्ट रिङले पनि सबैलाई चकित पारेको छ।
यद्यपि, उक्त एसेसरीको झलक दिने र सामसङ हेल्थ समर्थन पुष्टि गर्ने बाहेक कम्पनीले ग्यालेक्सी रिङको बारेमा अन्य थप जानकारीहरु दिएको छैन्।
तर एक कन्जुमर टेक विश्लेषक एभि ग्रीनगार्टमार्फत ग्यालेक्सी रिंग प्रोटोटाइप्ससँग केहि जानकारीहरु बाहिरिएका छन्। उनले फिटनेस ट्र्याकरका केही प्रमुख विवरणहरूको बारेमा पनि खुलासा गरे, जुन सामसङले प्रस्तुतीकरणमा खुलासा गरेको थिएन्।
सामसङ ग्यालेक्सी रिङको थप विवरणहरू
कार्यक्रममा देखाइएको ग्यालेक्सी रिंग प्रोटोटाइपको तस्विर खिच्नका लागि अनुमति नभएको ग्रिनगार्टले बताएका छन्। सामसङको पहिलो स्मार्ट रिङ्ग निकै हलुका भएको र यो १३ ओटा साइजहरुमा उपलब्ध हुने उनले बताएका छन्। दक्षिण कोरियाली ब्रान्डले ग्यालेक्सी रिङका लागि तीनओटा फिनिश योजना बनाएको जनाइएको छ।
त्यसैगरी यस वर्षको अन्त्यमा सामसङ ग्यालेक्सी रिङ लन्च हुने ग्रिनगार्टले खुलासा गरेका छन्। यद्यपी यसको मूल्यको बारेमा भने कुनै पनि विवरण उपलब्ध नभएको उनले जानकारी दिए।
यो अगस्टमा हुने सामसङको अर्को ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा डेब्यु हुने सम्भावना रहेको छ, जहाँ ग्यालेक्सी जेड फोल्डेबलहरूका साथै अर्को पुस्ताको स्मार्टवाचहरूमा केन्द्रित हुनेछ।
सामसङले भने शक्तिशाली र पहुँचयोग्य स्वास्थ्य र वेलनेस डिभाइसको साथ ग्यालेक्सी रिङ निकै अत्याधुनिक रहेको बताएको छ।
प्रकाशित: ५ माघ २०८०, शुक्रबार