डिजिटल इम्पावरमेन्ट सोसाइटी र सीडीसीएसआईटीले मिलेर शिक्षा र सिपबीचको असमानता हटाउन सहकार्य गर्ने

Technology Khabar ३ माघ २०८०, बुधबार

काठमाडौं ।

डिजिटल इम्पावरमेन्ट सोसाइटी (डिइएस) र त्रिभुवन विश्वविद्यालयको सेन्ट्रल डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड आईटी (सीडीसीएसआईटी) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा बुधबार भएको हस्ताक्षर कार्यक्रममा डिजीटल इम्पावरमेन्ट सोसाइटी (डीइएस) का अध्यक्ष राजेन्द्र अर्याल र त्रिभुवन विश्वविद्यालयको सेन्ट्रल डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड आईटी (सीडीसीएसआईटी) का विभागिय प्रमुख सरबिन सायमीले समझदारी पत्रमा हस्ताक्षर गरे।

उक्त समझदारीअनुसार दुबै संस्थाहरुले शैक्षिक र कौशल (Education and skills) बीचको असमानताका समस्या केन्द्रित रहेर सहकार्य गर्नेछन्।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले काम गर्दै पढ्दै भन्ने सरकारको नीति अनुसार उत्पादन हुने सबै विद्यार्थीहरुलाई रोजगारी सुनिश्चित गर्न सकिने बताईन्।

“आईटीको नयाँ विषयहरुलाई समावेश गर्दै सूचना प्रविधिको प्रयोग नहुने क्षेत्रमा गुणात्मक परिवर्तन हुन सक्दैन्। आईटी सेक्टरमा हामी छिमेकी देशसहित विश्वभर प्रतिस्पर्धा गर्न सक्छौं। र त्यो संभव छ भन्ने देखिएको छ।” मन्त्री शर्माले भनिन्।

हाम्रा सरकारी विद्यालय र विश्वविद्यालयहरुबाट आईटी पढेका विद्यार्थीहरुलाई कसरी रोजगारमा लगाउने कसरी बजारमा बिकाउने भन्ने चिन्तालाई समाधान गर्न यसले सहयोग गर्ने मन्त्रीको धारणा छ।

“नेपालमा पढाई हुने सबै विषयबाट उत्पादन हुने विद्यार्थीहरु सबैलाई प्राक्टिकल गराउन सक्नुपर्छ। अहिले विदेशमा जाने युवाहरुको ताँति छ त्यसलाई रोक्न पनि आईटी विषय महत्वपूर्ण हुनसक्छ।” उनले भनिन्।

यसैगरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा शिवलाल भुसालले बजारमा के भईरहेको छ भन्ने विषयलाई शैक्षिक क्षेत्रमा सँगसँगै लैजान यसले सहयोग पुग्ने बताए। उनले भने, “मार्केट र शैक्षिक संस्थाबिच सम्बन्ध बिस्तार गर्न सहयोगी हुनेछ। यसले आईटी पढेर पनि बजारमा उपयोग गर्न नपाईरहेको बेलामा विद्यार्थीहरुलाई सहयोग गर्नेछ। बढी भन्दा बढी विद्यार्थीहरु सहभागी गर्न सकियोस्।”

कार्यक्रममा बोल्दै डिईएसका अध्यक्ष राजेन्द्र प्रसाद अर्यालले सूचना प्रविधि क्षेत्रमा शैक्षिक र औद्योगिक कार्यहरुका बिचमा देखिएको भिन्नतालाई हटाउन प्रयास गरिने बताए।

“हाल हाम्रा आईसीटी शैक्षिक कार्यहरु र आईटी उद्योगबिच निकै भिन्नता र फरकपना देखियो । यी दुबै एक आपसमा सहकार्य गरेर नेपालको सूचना प्रविधि क्षेत्रलाई अगाडि बढाउनुपर्ने हुँदा यो समझदारीले शैक्षिक संस्थाहरुलाई आफ्ना उत्पादनहरुलाई दक्ष र बजारमा बिक्ने बनाउन मद्दत गर्नेछ।” डिईएसका अध्यक्ष अर्यालले भने।

यसैगरी त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रिय विभागका विभागिय प्रमुख सर्विन सायमीले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने र देशभित्र खपत गर्न सकिने बारेमा समझदारी पहिलो पाईला भएको बताए।

“अहिले नेपालमा आईटी क्षेत्रमा पनि जनशक्तिको अभाव देखिएको छ। एकातर्फ शैक्षिक जनशक्ति दक्ष नहुनु र अर्कोतर्फ उद्योगमा जनशक्ति अभाव हुनुले समस्या भएको हो। यसलाई न्यूनिकरण गर्न सबैले मिलेर जानुपर्छ,” सायमीले भने।

कार्यक्रममा ग्लोबल डिईएसका प्रमुख समिर थापाले सहकार्यको बारेमा प्रस्तुती दिएका थिए। उनले शिक्षा र सिपमा किन भिन्नता छ भन्ने बारेमा जानकारी दिएका थिए। यसका साथै नेपालको आईटीलगायतका शैक्षिक सिलेबस अपडेट नहुनु र ढिलो अपडेट हुँदा विश्वस्तरको सिप र क्षमतामा पहुँच नभएको बताए। उनले यसलाई परिमार्जन गरेर विश्वबजार अनुकुल सिलेबस तयार पार्ने र त्यसलाई नियमित परिमार्जन गर्न सुझाब समेत दिए।

ग्लोबल डिजीटल इम्पावरमेन्ट सोसाइटी (जीडीइएस)का एक्जीक्युटिभ मेम्बर सुनिल पाण्डेले अझै पनि सीएसआईटी वा आईटीका पास आउट भएर सिनियर ब्याचमा पुगिसकेका विद्यार्थीहरू मार्केटमा जाँदा अथवा इन्डस्ट्रिजमा पुग्दा केही ग्याप रहेको बताए।

जीडीइएसले अन्तराष्ट्रिय रुपमा माईक्रोसफ्टसँग टाईअप गरेको र स्थानीय रुपमा डीइएसले विषेश गरी छैटौँ सेमेस्टर भन्दा माथिका विद्यार्थीहरूलाई पाइलटिङको रुपमा सुरु गर्न लागको पाण्डेले बताए।

प्रकाशित: ३ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया