सामसङलाई पछारेर एप्पल सन् २०२३ को स्मार्टफोन बजारको शीर्ष स्थानमा

Technology Khabar ३ माघ २०८०, बुधबार

काठमाडौं ।

एप्पलले सामसङलाई पछि पार्दै सन् २०२३ मा अग्रणी स्मार्टफोन विक्रेता बन्न सफल भएको आइडीसीको पछिल्लो प्रतिवेदनले उल्लेख गरेको छ।

आईफोन निर्माताले अन्तिम क्वाटरमा ८०.५ मिलियन डिभाइसहरू ढुवानी गर्दै रेकर्ड कायम गरेको र एक वर्षमा कुल २३४.६ मिलियन ढुवानी गरेको छ।

अर्कोतर्फ, सामसङले पनि चौथो त्रैमासिकमा ५३ मिलियन डिभाइसहरू ढुवानी गर्दै वार्षिक रुपमा कुल २२६.६ मिलियन पुर्याएको छ।

सन् २०१० पछि पहिलो पटक सामसङ बाहेक अन्य कम्पनीले कडा प्रतिस्पर्धात्मक बजारमा शीर्ष स्थान दाबी गरेको हुनाले यो एउटा टर्निङ प्वाइन्ट भएको उल्लेख गरिएको छ।

त्यसैगरी, १४५.९ मिलियन बिक्रीका साथ शाओमी तेस्रो स्थान रहन सफल भएको छ भने ओप्पो १०३.१ मिलियन र ट्रान्सन ९४.९ मिलियनको साथ क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन्।

यद्यपी, समग्र स्मार्टफोन बजार भने उकालो लाग्न सकेको छैन। सन् २०२३ मा विश्वव्यापी ढुवानी ३.२ प्रतिशत वार्षिक दरमा घट्दै १.१७ बिलियन एकाइमा रहेको छ। बजारले सुरुवातमा आर्थिक चुनौती र इन्भेन्टरी समस्याहरू को सामना गरेको थियो भने दोस्रो आधा भागमा रिकभरीको संकेतको साथ अन्तिम क्वाटरमा ८.५ प्रतिशतको वृद्धि भएको उल्लेख छ।

आईडीसीका अनुसार, एप्पलको सफलताको मुख्य कारण यसको हाई–एन्ड डिभाइसहरूको माग हो, जसले हाल बजारको २० प्रतिशत भन्दा बढी योगदान पुर्याएको छ। साथै कम्पनीको आक्रामक ट्रेड–इन कार्यक्रमहरू र वित्तिय विकल्पहरूले पनि कम्पनीलाई यो प्रवृत्तिमा पूँजीकरण गर्न मद्दत गरेको उल्लेख छ।

त्यसैगरी एप्पलको वृद्धिले सामसङको पतनमा भूमिका खेलेको र एन्ड्रोइड इकोसिस्टम पनि आफैंमा विविधिकरण भइरहेको जनाइएको छ। ह्वावेले चीनमा पुनर्रुत्थान गरेको उल्लेख छ भने वानप्लस, अनर र गुगल जस्ता ब्रान्डहरूले प्रिमियम खण्डको लोअर इण्डको कम्पिटेटिभ डिभाइस (प्रतिस्पर्धी उपकरण) हरू प्रदान गरेका छन्। साथै फोल्डेबल फोनहरू र एआईमा भएका प्रगतिहरूले बजारको गतिशील प्रकृतिलाई थप हाइलाइट गरेको छ।

प्रकाशित: ३ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया