डिजिटल वालेट प्रयोगकर्ता २ करोड ८ लाख

Technology Khabar २ माघ २०८०, मंगलवार

काठमाडौं ।

नेपालमा डिजिटल भुक्तानी सेवा वालेटको प्रयोगकर्ता बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० मंसिरको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेटको प्रयोगकर्ता २ करोड ८ लाख २७ हजार ९९४ पुगेको देखिन्छ।

गत वर्ष २०८० मंसिरमा वालेट प्रयोगकर्ता १ करोड ५५ लाख २ हजार १३३ थिए। एक वर्षको अवधिमा अवधिमा वालेट प्रयोगकर्ता ५३ लाख २५ हजार ८६१ ले अर्थात ३४.३७ प्रतिशतले बढेका छन्।

प्रयोगकर्ताको संख्या बढेसँग वालेट मार्फत हुने भुक्तानी रकम पनि बढेको छ। गत वर्ष २०८० मंसिरमा वालेट मार्फत १७ अर्ब ७३ करोड भुक्तानी भएकोमा चालु वर्षको सोही २३ अर्ब १८ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ। गत वर्षको तुलनामा चालु वर्षको सोही अवधिमा वालेट मार्फत हुने भुक्तानी रकम ५ अर्ब ४५ करोड १० लाख रुपैयाँले बढेको छ।

सहज र सरल तरिकाबाट भुक्तानी गर्न सकिने भएकाले पछिल्लो समय नेपालमा वालेटको प्रयोग बढ्दो क्रममा छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट निःशुल्क वालेटमा रकम लोड गर्न सकिने भएकाले पनि यसमा प्रयोगकर्ताको आकर्षण बढ्दो छ।

मोबाइलमा वालेट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले रकम लोड गरेर मोबाइल टपअप, बिजुली तथा खानेपानीको बिल भुक्तानी, बीमा पोलिसी खरिद तथा नविकरण, अनलाइन भुक्तानी, राजश्व, जरिवाना लगायतको भुक्तानी गर्न सक्छन्। साथै बैंक खाता नहुनेहरुले पनि वालेटको प्रयोग गर्न सक्ने भएकाले प्रयोगकर्ताहरुको आकर्षण बढेको देखिन्छ।

प्रकाशित: २ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया